२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सिद्धार्थनगरमा गठबन्धनको संकल्प : ‘स्वस्थ मानिस, हरियाली सहर’

बिहिवार , बैशाख २२, २०७९

भैरहवा, २२ वैशाख । 
सत्ता साझेदार गठबन्धनका तर्फबाट स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गरेका छन् । सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान  र नेकपा (माओवादी केन्द्र) बाट उपप्रमुख पदकी उम्मेदवार कमला थापाले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर संकल्पपत्र जारी गरेको बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

‘नगरको उन्नतिका लागि आवश्यक र पूरा गर्न सकिने कार्यक्रम मात्रै सार्वजनिक गरेका हौं,’ प्रमुख पदका उम्मेदवार खानले भने, ‘हमी असम्भव कुरा गर्दैनौं ।’ दुवै उम्मेदवारले ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता, हाम्रो सिद्धार्थनगर नगरपालिका’ नारा तय गरेका छन् । उनीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचार शून्य बनाउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसका लागि प्रशासनिक कार्यलाई चुस्त पारिने उनीहरुले बताए । नगरका सबै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउने उनीहरुको जोड छ । ‘निर्वाचन पूरा भएको ६ महिनाभित्र नगरपालिकाको दीर्घकालीन योजना तर्जुमा गरेर काम थाल्नेछौं,’संकल्प पत्र सार्वजनिक गर्दै खानले भने, ‘नगरपालिका तथा प्रत्येक वडामा गुनासो तथा उजुरी पेटिका राखिने छ ।’

नगरपालिकाको शिक्षा स्तरोन्नतिका लागि विशेष योजना तय गर्ने उपप्रमुख पदकी उम्मेदवार थापाले बताइन । ‘नगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी कक्षा १२ सम्म निशुल्क शिक्षाको नीति अवलम्बन गरिनेछ,’उनले भनिन, ‘अध्ययनसँगै स्वआर्जनका लागि प्राविधिक क्याम्पस सञ्चालन गरिनेछ ।’ उच्च शिक्षा अध्ययनका लागि गरीब, पिछडिएका वर्ग तथा अल्पसंख्यक समूहका छात्र–छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने उनले बताइन् । ‘विद्यालयमा छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिनेछ,’उनले भनिन,‘बेरोजगार तथा युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गरिनेछ ।’ 

नगर प्रमुख पदका उम्मेदवार खानले मदरसा शिक्षालाई समायनुकुल बनाइने बताए । ‘सामुदायिक विद्यालयमा एक जना नर्सको व्यवस्था मिलाइने छ,’उनले भने, ‘अपांगता भएका विद्यार्थी लागि विशेष प्रोत्साहन भत्ता व्यवस्था गरिने छ ।’ सिद्धार्थनगर–२ मा रहेको बाल बहिरा विद्यालयलाई विशेष योजनाका साथ अगाडि बढाउने लक्ष्य रहेको उनले बताए । नगर क्षेत्रमा कक्षा १० सम्म पढेका विद्यार्थीलाई रोजगारको लागि वायरिङ्ग, प्लम्बिङ्ग, कुक, वेटर, कटाई, सिलाई बुनाई आदि सिपमूलक तालिमको लागि व्यवस्थ गरिने प्रमुख पदका उम्मेदवार खानले बताए । 

नागरिकलाई तन्दुुरुस्त राख्न अर्गानिक तरकारी उत्पादनमा जोड दिने उनले बताए । त्यसका लागि नगरपालिका भित्रका खाली जमिनमा विषादी र रासायनिक मल प्रयोग नगरी तरकारी उत्पादनलाई बढवा दिए बताए । यस्ता खेतीमा निजी क्षेत्रले लगानी गर्ने र विपन्नले उत्पादन गर्ने नीति ल्याउने खानले जानकारी दिए । ‘भीम अस्पताललाई पाँच वर्षभित्र सुविधासम्पन्न बनाएर शिक्षण अस्पतालमा परिणत गर्न पहल गर्नेछौं,’उनले भने, ‘प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको स्तरवृद्धि गरिनेछ ।’ हरेक वडामा अपांग तथा जेष्ठ नागरिकलाई घरघरमै गई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । ‘नगरका सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा गर्न प्रेरित गरिनेछ,’उनले भने, ‘क्यान्सर, मृगौला तथा दीर्घ रोग लागेका पीडित स्थानीय नागरिकलाई विशेष व्यवस्था गरिनेछ ।’

गठबन्धनले कृषि तथा पशुपालनलाई जोड दिएको छ । कृषकलाई आवश्यकता अनुसार बिऊ, मल, औषधी समयमा नै सर्व सुलभ रुपमा उचित मूल्यमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ । ‘प्र्रांगारिक मल उत्पादनमा घरेलु उद्योगलाई प्रोत्साहित गरिनेछ,’गठबन्धनको संकल्पपत्रमा उल्लेख छ, ‘प्रत्येक वडाको खेतीयोग्य जमिनको तथ्यांक संकलन गरी कृषि उत्पादन वृद्धि गर्न सिद्धार्थनगर नागरिक कृषि कार्यक्रम लागू गरिने छ ।’ कृषि तथा बाली बीमाको व्यवस्था गर्ने र  घरेलु करेसावारीका लागि निःशुल्क विउ विजन उपलब्ध गराइने गठबन्धनले जनाएको छ । 

‘सिद्धार्थनगर–५ स्थित हाटबजारमा नवनिर्मित कृषि व्यापारिक भवन तथा वडा नम्बर ८ स्थित वीपी पथमा रहेको फलफुल तथा तरकारी बजारलाई थप व्यवस्थित गरिने छ,’गठबन्धनको संकल्प पत्रमा उल्लेख छ,‘ पशुपालन र दुग्ध उत्पादन कार्यमा संलग्न व्यवसायीलाई प्रोत्साहित गरिनेछ ।’ गठबन्धनले निजी क्षेत्र र नागरिकलाई लाभ मिल्ने गरी नगरको कर व्यवस्थापन गरिने जनाएको छ । 

‘कर बढाउने निति भन्दा दायरा बढाई राजस्व वृद्धि गर्ने नीति अवलम्बन गरिने छ,’उक्त पत्रमा उल्लेख छ,‘जनताको करबाट उठेको रकमलाई अनावश्यक रुपमा खर्च गरिने छैन ।’ महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योग स्थापना गरी नयाँ व्यवसाय सञ्चालन गर्न आउने उद्योगीहरुलाई ५ वर्षसम्म ५० प्रतिशत स्थानीय करमा छुट दिइने उल्लेख छ । खेल क्षेत्रको विकासका लागि प्रत्येक वडामा खेलमैदानको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ । ‘युवायुवतीको शारीरिक विकासको लागि स्वास्थ्यको ख्याल गर्दै प्राथमिक तहलेदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा भाग लिन प्रोत्साहित गरिनेछ,’पत्रमा उल्लेख छ, ‘५ वर्षभित्र एउटा कवर्ड हल बनाइनेछ ।’ सिद्धार्थनगरलाई क्लिन, ग्रिन, इकोफ्रेन्ड्रली र फूलै फूलको शहर बनाइने गठबन्धनको लक्ष्य छ । ‘इकोनोमिकल्ली जिरो पोलुटेड र हाइजेनीक गर्न ५ लाख विरुवा वृक्षारोपण गरिनेछ,’प्रमुख पदका उम्मेदवार खानले भने,‘ नगर क्षेत्रभित्रका सम्पूर्ण सडकहरुलाई कालोपत्रे वा ढलान गरिनेछ ।’ छाडा चौपायाको  व्यवस्थापनको लागि नगरपालिकाको अधिनमा रहेको जग्गामा पूर्वाधार खडा गरी निर्माण गर्ने उनले बताए । 

फोहोरमैला व्यवस्थापन तथा सरसफाईका लागि गठबन्धनले फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर समाधान गर्ने जनाएको छ । नगरभित्रका सबै सडक, ढल, नाला तथा सार्वजनिक शौचालयको नियमित सरसफाई गरिने गठबन्धनले जनाएको छ । ‘प्रत्येक वडामा प्रत्येक ४–५ घरको अगडि फोहरमैला फाल्ने डस्टबीनको व्यवस्था गरिने छ,’पत्रमा उल्लेख छ,‘आवश्यकता अनुसार वर्षायाममा पानीबाट डुबानको क्षति कम गर्न नालाको  सरसफाईमा विशेष ध्यान दिइनेछ ।’ 

वातावरण तथा विपद व्यस्थापनका लागि नगरक्षेत्रमा रहेको सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरिनेछ  र प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी विरुवाहरु लगाइने उल्लेख छ । ‘सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी सार्वजनिक तथा निजी भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गर्ने । सो कार्यको लागि आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराइने छ,’गठबन्धनको संकल्पपत्रमा उल्लेख छ,‘ निजी क्षेत्रबाट गरिने (वातावरण तथा विपद् व्यवस्थापन) वृक्षारोपण हरियाली आदिको लागि उचित सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।’

यसका साथै नगरमा योगदान पु¥याएका विशिष्ट व्यक्तिहरुलाई पुरस्कारसहित सम्मानपत्र नगर पदकबाट विभुषित गर्ने, स्थानीय संस्कृतिलाई चिनाउने साँस्कृतिक कार्यक्रमको लागि हलको व्यवस्था गरी दैनिक रुपमा फरकफरक कार्यक्रम सञ्चालन गर्न व्यवस्था मिलाउने, खाना महोत्सव, मेला प्रदर्शनी, जस्ता नगरस्तरीय कार्यक्रमहरुलाई प्रोत्साहित गर्ने, नगर सुरक्षाका लागि सीसीटिभी जस्ता प्राविधिको प्रयोग गरी सुरक्षाको प्रबन्ध मिलाउने लगायत काम गरिने उल्लेख छ । ‘विकसित मुलुकका विभिन्न शहरसँग भगिनी सम्बन्ध कायम गरी आपसी हितका क्षेत्रमा सिकाई एंव विकासका कुराहरुलाई बढावा दिने नीति अवलम्बन गरिनेछ,’संकल्पपत्रमा उल्लेख छ,‘नगर क्षेत्र भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी उचित व्यवस्थापन गरिने छ ।’ 

नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिश बहादुर खड्काको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका नगर अध्यक्ष नारायण हमालले गरेका थिए ।