२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

गाउँ बनाउने अभियानमा ३० वर्षिय विनोद 

शनिवार , बैशाख २४, २०७९

भैरहवा, २४ वैशाख । 
सिद्धार्थनगर नगरपालिकाको ७ नम्बर वडा शिक्षा, स्वास्थ्य, खानेपानीको दृिष्टले नगरपालिकाकै सबै भन्दा पिछडिएको वडा हो । पिछडिएको यस अर्थमा कि नगरका १३ वडामध्ये ७ नम्बवबाहेक अन्य सबै वडामा सामुदायिक बिद्यालय छन, तर ७ नम्बर वडामा एउटै सामुदायिक विद्यालय छैन । ७ नम्बर वडामा स्वास्थ्य चौकीको कुरै छोडौ एउटा गाउँघर क्लिनिकसम्म छैन । 
७ नम्बर वडामा पनि अन्य टोलका तुलनामा भैरहवा गाउँ अझै पिछडिएको छ । भैरहवाको यो उद्गम स्थल पनि हो । तर यहाँ एक जना महिला स्वास्थ्य स्वयंसेविका पनि छैनन् । गाउँमा प्लटिङ्ग गरिएका स्थानमा पक्की बाटो बने पनि यहाँका पुराना बाटोहरुको अवस्था अझै पनि खराब छ । 

भैरहवा गाउँको यस्तो दुरावस्था हेरेर अहिले गाउँकै ३० वर्षिय युवा विनोद विश्वकर्माले ७ नम्बर वडामा वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको एकल एजेण्डा नै भैरहवा गाउँ र वडा नम्बर ७ को समग्र एवं समानान्तर विकास रहेको छ । भैरहवाको उद्गम स्थल रहेको भैरहवा गाउँलाई खुल्ला संग्रहालय बनाउने उनको योजना रहेको छ । 

“भैरहवाको विकासको लागि भैरहवा गाउँको बिकास अपरिहार्य छ ।” विश्वकर्माले भने “यसबाट पर्यटक आकर्षित गर्ने गरि योजना बनाएको छ ।” 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ बाट वडा अध्यक्ष पदका उम्मेदवार विनोद विश्वकर्मा भैरहवा गाउँलाई खुल्ला संग्रहालय बनाउने अभियानका साथ निर्वाचनमा होमिएका छन् । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका उनले नगरकै उद्गम स्थल रहेको भैरहवा गाउँ अहिलेसम्म ओझेलमा परेको बताउँदै यसको विकासको लागि आफुले उम्मेदवारी दिएको बताए । “आधुनिक शहर भैरहवालाई जन्म दिएको यो गाउँ वर्तमान जनप्रतिनिधि र नगरपालिकाको नजरमा पर्न सकेन ।” विश्वकर्माले भने “यहाँका नागरिकको अवस्था पहिले जुन अवस्थामा थियो अहिले पनि सोही अवस्थामा छ । भैरहवा गाउँको समग्र विकास नै मेरो मूल एजेण्डा हो ।”

पर्यटकीय शहरको रुपमा विकसित हुँदै गइरहेको भैरहवाको समृद्धिको मूल आधार नै पर्यटन भएको र यसको सुरुवात भैरहवा गाउँबाट गर्ने उनको भनाइ छ । भैरहवा गाउँलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका पर्यटकलाई यहाँ आकर्षित गर्न सकिने योजनासहित अगाडी बढ्ने उनले बताए । 

Binod photo 1.jpg

सबैभन्दा पुरानो वडा रहे पनि वडा नम्बर ७ मा अहिले म्म कुनै पनि सामुदायिक विद्यालय नहुनु दुःखद रहेको बताउँदै उनले आफूले जिते वडामै विद्यालय खोल्न पहल गर्ने बताए । “पराम्परागत पेशामा लागेका वडा नम्बर ७ का नागरिकका बालबालिका निजी विद्यालयमा महंगो शु्ल्क तिरेर पढ्न बाध्य छन् । भएका सामुदायिक विद्यालय पनि टाढा छन ।” विनोदले भने “म वडा अध्यक्षको रुपमा आए आफ्नै वडामा सामुदायिक बिद्यालयको लागि पहल गर्छु । यसले यहाँका नागरिकलाई थप सुविधा थपिन्छ ।”
जसपाबाट विश्वकर्मा वडा अध्यक्षमा उम्मेदवार बनेका छन् । उनीसहित प्यानलको सदस्यमा राहुल कानु बनिया, श्रीनिवास धोबी, महिला सदस्यमा सुमन सहानी केवट र दलित महिला सदस्यमा रिता लोहारले उम्मेदवारी दिएका छन् ।