
आइतवार , बैशाख २५, २०७९
रुपन्देही, २५ वैशाख ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका—१३ जितगढीकी जमुना सुवदीलाई अहिले पार्टीको प्रचारका लागि घरदैलो गर्न भ्याइनभ्याइ छ । स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमख पदका उम्मेदवार बाबुराम भट्टराई र उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्याल तथा वडाका उम्मेदवारलाई जिताउन उनी रातदिन नभनेर लागिपरेकी छन् । वडाको निर्वाचन कमिटी सदस्य रहेकी सुवेदी अहिले मात्रै होइन पार्टीका हरेक अभियान र गतिविधिमा संलग्न रहँदै आएकी छन् । ‘हामीलाई त उत्सव आए जस्तै भएको छ, दिनरात नभनी नाच्दै गाउँदै प्रचारमा खटिएकी छु, ’उनले भनिन् ।
बुटवल–१३ कै सरस्वती मरासिनी पनि पार्टीको प्रचारमा सक्रिय ढंगले लागेकी छन् । एमालेका वडा अध्यक्षका उम्मेदवार शोभाखर पोखरेलसहितको टीमलाई विजयी बनाउन वडाबासीसँग मत माग्दै उनी पाँच दिनदेखी घरदैलोमा व्यस्त छिन् । व्यवसाय सञ्चालनको जिम्मा श्रीमानलाई लगाएर उनी प्रचारमा लागेकी छन् ।
‘घरको काम राती सकेर पनि पार्टीको प्रचारमा लागेकी छु । प्रचारले गर्दा समयमा खान र बस्न भ्याइएको छैन’, मरासिनीले भनिन् । पार्टी निर्माण र प्रचारमा खेलेको भूमिकाको एकदिन मूल्यांकन हुने अपेक्षाका साथ उनी लागेकी छन् ।
बुटवल–११ की दिलकुमारी भट्टराई पनि उम्मेदवारहरुसँग घरदैलोमा छिन् । बुटवलको सबैभन्दा धेरै मतदाता रहेको क्षेत्रलाई आफ्नो पक्षमा पार्न उनी वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसहितका एमालेका उम्मेदवारहरुलाई सघाइरहेकी छन् । अहिले स्थानीय तहको निर्वाचनमा मात्रै होइन यसअघिका निर्वाचनमा पनि उनी प्रचारको काममा निकै खटिएकी थिइन् । ‘कुनै पनि हालमा पार्टीले चुनाव जित्नुपर्छ एउटा इमान्दार कार्यकर्ताको हैसियतले उम्मेदवारलाई जिताउनु मेरो कर्तव्य हो भनेर लागेकी छु’ माझगाउँ क्षेत्रको घरदैलोमा भेटिनुभएकी भट्टराईले भनिन् ।
तिलोत्तमा नगरमा पनि चुनावी प्रचारमा महिलाको उपस्थिति बाक्लो छ । एमालेबाट नगरका प्रमुख पदका उम्मेदवार मोहन चापागाईं र उपप्रमुखका उम्मेदवार जागेश्वरदेवी चौधरीसहित वडाका उम्मेदवारलाई जिताउन महिलाहरुको रस्साकस्सी छ ।
सैनामैना नगरको घरदैलोमा पनि महिलाहरु सक्रियतापूर्वक लागेका छन् । प्रमुख पदका उम्मेदवार चित्र बहादुर कार्की र उपप्रमुख पदका उम्मेदवार बिना रानाको पक्षमा भोट माग्दै महिलाहरुले दिनहुँ घरदैलो गरीरहेका छन् । वडास्तरमा पनि एमाले उम्मेदवारहरुको घरदैलोमा महिला सहभागिता राम्रो रहेको उपप्रमुख पदका उम्मेदवार राना बताउँछिन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१० की मञ्जु ढकाललाई पनि चुनावी प्रचार गर्न भ्याइनभ्याइ छ । एमालेका प्रमुख पदका उम्मेदवार रमावती यादव र उपप्रमुख कल्पना हरिजनसहित वडाका उम्मेदवारलाई जिताउन उनी घरदैलोमा व्यस्त छिन् ।
देवदहमा पनि एमाले उम्मेदवारका पक्षमा मत माग्दै महिलाहरु उत्साहजनक रुपमा घरदैलोमा जुटेका छन् । प्रमुख पदका उम्मेदवार ध्रुव खरेल र उपप्रमुख पदका उम्मेदवार विद्यालक्ष्मी गुरुङको पक्षमा महिलाहरुको लहर छ ।
उता सिद्धार्थनगरमा एमालेको चुनावी प्रचारमा महिला सहभागिता उत्साहजनक छ । प्रमुख पदका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल र उपप्रमुख पदका उम्मेदवार उमा अधिकार जिताउँ अभियानमा महिलाहरु एकताबद्ध भएर लागेको छन् ।
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा जुटेका छन् । समय धेरै नभएकाले पार्टीका उम्मेदवारहरुलाई मत माग्न भ्याइ नभ्याइ छ । उम्मेदवारहरुले आफ्ना कार्यकर्ताका साथमा मतदाताका घरमा पुगेर मत मागिरहेका छन् । टोलटोलमा पार्टीका गीत, नारा, झण्डा र ब्यानरले उल्लासमय वातावरण बनेको छ । टोल नगर निर्वाचनले रंगिएको छ । पार्टीका गितमा नाँच्दै उम्मेदवार र कार्यकर्ताले मत माग्ने गरेका छन् ।
पार्टीले गरेको घरदैलो, सभा र जुलुसमा सबैभन्दा धेरै सहभागिता महिलाको छ । खासगरी एमाले पार्टीको प्रचारमा महिला सहभागिता धेरै छ । महिलाहरुको उत्साहजनक सहभागिताले प्रचार कार्य प्रभावकारी बनेको छ । नेकपा एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरे भन्छन्, ‘हेर्दा लाग्छ महिलाहरुको सक्रियताले गर्दा पार्टीको प्रचार धानिएको छ । पार्टीलाई जिताउन यस क्षेत्रका महिलाहरु दिन रात नभनेर लागी परेका छन्, यसको मूल्यांकन पार्टीले गर्नुपर्छ ।’
स्थानीय तहको अहिलेको निर्वाचनमा मात्रै होइन यसअघि भएका निर्वाचनमा पनि महिलाहरुको सहभागिता उत्साहजनक नै हुने गथ्र्यो । त्यसो त पार्टीका सभा, जुलुस र अन्य कार्यक्रममा पनि महिलाको उपस्थिति बाक्लो छ भन्नुहुन्छ, राजनीतिकर्मी टिका कटेल । ‘घरको काम थाँती राखेरै प्रचारमा लागेकी छु ’, खरेलले भनिन् ।
संविधानले सुनिश्चित गरेको पालिकाको प्रमुख तथा उपप्रमुखमध्ये महिला हुनुपर्ने प्रावधानलाई अहिले जिल्लाका सत्तापक्षीय गठबन्धनले लत्याएका छन् । जिल्लामा पाँच दलबीच गठबन्धन भएपछि पालिकाका प्रमुख र उपप्रमुखमै पुरुष उम्मेदवार बनेपछि गठबन्धनका महिलाहरु भने असन्तुष्ट छन् । उनीहरुले जुन पार्टीको आए पनि उपप्रमुखमा महिलालाई स्थान दिन आग्रह गरेका थिए । नेतृत्व तहका महिलाले यो कुरा पार्टीमा उठाए पनि कारवाहीको डरले बाहिर बोल्ने गरेको पाइएको छैन ।
‘पार्टीलाई परेका बेला खम्बा बने उभिने महिलाहरुको योगदानको सबै पार्टीले मूल्यांकन गर्नुपर्छ’, राजनीतिकर्मी देवी वाग्ले भन्छिन् । ’
प्रचारलाई प्रभावकारी बनाउन महिलाहरु सबै पालिकामा कस्सिएका छन् । दोहोरो तेहेरो जिम्मेवारी पूरा गरेर पनि पार्टीको घरदैलोमा महिलाहरुको सहभागिता उल्लेखनीय रहेको राजनीतिकर्मी ज्ञानु केसी बताउँछिन् । ‘पार्टीका अभियान सफल बनाउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ, महिलाको यो भूमिकाको पार्टीले मूल्यांकन गरेर स्थान दिन कञ्जुस्याइँ गर्नुहुँदैन’, उनले भनिन् ।
जिल्लामा ६ लाख ३२ हजार ३६० जना मतदाता छन् । जसमध्ये ३ लाख ८ हजार ५७४ जना महिला र ३ लाख २३ हजार ७७८ जना पुरुष मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा यहाँ ३८ दलले चुनावी प्रतिष्पर्धा गर्दै छन् । निर्वाचनका लागि रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij