२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सरकारसँग भएको सम्झौता कार्यान्यवन नभएको टाईगर्सको गुनासो

जेठ ७ गते २२ वटा जिल्ला बन्दको आह्वान

मंगलवार , जेठ ३, २०७९

भैरहवा, ३ जेठ । 
नेपाल सरकार र तराई मधेश जनता पार्टी (टाईगर्स) बीच भएको शान्ति सम्झौता कार्यान्वयन नभएको टाईगर्सले गुनासो गरेको छ । पार्टीले राखेको १३ बुँदे माग पूरा नभएको उक्त पार्टीले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सचिव अमर धवल (मेजर)ले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आइसकेको भए पनि विगतमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारले आनाकानी गरिरहेको बताए । उनले माग पूरा गर्न माग गर्दै जेठ ७ गते शनिबार तराईको २२ वटा जिल्लामा बन्दको आह्वान गरिएको बताए । उनले भने, ‘विगतमा सरकार र पार्टीबीच भएको सम्झौता कार्यान्यवन नभएकाले बाध्य भएर बन्दको आह्वान गरेका छौं, पटकपटक ध्यानाकर्षण गराउँदा समेत सरकारले माग पूरा गरेको छैन । ’ 

पार्टीका कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, सहिद परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, झुटा मुद्दामा फरार रहेका कार्यकर्तालाई देशमा शान्तिपूर्ण रुपमा बस्नका लागि वातावरण मिलाउनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने, सुकुम्बासी समस्या सामाधान गर्नुपर्ने, भष्टाचार गरिएको सम्पत्ति छानबीन गरी सरकारीकरण गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग रहेको धवलले जानकारी दिए ।

त्यस्तै नागरिकताको समस्या समाधान गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको समस्या समाधान गर्नुपर्ने, बेरोजगारीलाई स्वदेशमै रोजगारीको ग्यारेण्टी हुनुपर्ने पार्टीको माग छ ।