
बुधवार , जेठ ४, २०७९
भैरहवा, ४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट उपप्रमुख (उपमेयर) पदका उम्मेदवारले उपप्रमुखमा विजयी नेकपा (एमाले)का उम्मेदवार उमा अधिकारीलाई माला लगाएर बधाइ दिएकी छन् । बुधबार भैरहवा नमूना माध्यमिक विद्यालयस्थित मतगणना केन्द्रमा पुगेर गुप्ताले नवनिर्वाचित उपप्रमुख अधिकारीलाई माला लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् । गुप्ताले अधिकारीलाई बधाई छ दिदी भन्दै खुट्टा ढोगी ‘राजनीतिक संस्कार’ देखाएकी छन् ।
मेयर पदको उम्मेदवार धेरै पहिला टुंगो लगाइसके पनि उपमेयरमा भने केही ढिलो मात्र राप्रपाले उम्मेदवारको टुंगो लगाएको थियो । ‘प्रचारप्रसार र घरदैलाका लागि प्रयाप्त समय पाएको थिइन्, तैपनि सिद्धार्थनगरका मतदाताले मलाई अमूल्य मत दिएर दोस्रो स्थानमा पुर्याउनुभएको छ, निर्वाचित हुन नसके पनि सम्मानजनक मत पाएकाले खुसी छु, ’गुप्ताले भनिन् । राप्रपा सिद्धार्थनगर समिति सदस्य समेत रहेकी गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन् । मतगणना सुरु भएको केही समयपछि नै उनले अग्रता लिएकी थिइन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापा भन्दा पनि धेरै मत ल्याएपछि गुप्ता एकाएक चर्चामा आएकी थिइन् । एक्लै प्रतिष्पर्धामा उत्रिएको राप्रपाकी उम्मेदवार गुप्ताले राम्रो मत ल्याएपछि उनी चर्चामा आइन् ।
गुप्ता राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको पत्नी सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख रतन कुमार गुप्ताको बुहारी समेत हुन् ।
त्यस्तै उपप्रमुखका उम्मेदवार गुप्ताले सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा निर्वाचन संविधानसभा सदस्य इस्तियाक अहमद खानलाई समेत माला लगाउँदै बधाई दिएकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij