
शुक्रवार , जेठ ६, २०७९
परासी, ६ जेठ ।
गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो ।
३ हजार २ सय १८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९ सय ८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै ४ हजार ९ सय ८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित भएका छन् ।
प्रमुखमा पराजित पोखरेल नेपाली कांग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादीबाट उम्मेदवार रहेका थिए । निर्वाचित अर्यालले १४ हजार ८ सय ३८ मत ल्याएकी छन् भने उनको निकटम प्रतिद्वन्द्वी पोखरेलले ११ हजार ६ सय २० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा निर्वाचित दुवेले १३ हजार ७९८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी खरेलले ८ हजार ८ सय ९० मत पाएका छन् । यसअघिको निर्वाचनमा सुनवल नगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित भएको थियो ।
१३ वडा रहेको यस नगरमा सात वडा एमालेले जितेको छ भने कांग्रेसले पाँच र माओवादीले एक वडा जितेको छ । वडा नं १ र २ मा एमालेका मनबहादुर थापा र राजेन्द्र यादव, ३ मा कांग्रेसका पविन गुरुङ, ४ मा एमालेका बालकृष्ण पङ्गेनी, ५ मा कांग्रेसका नेत्रलाल तिवारी र ६ को वडाध्यक्षमा एमालेका हिमलाल शर्मा निर्वाचित भएका छन् ।
त्यस्तै ७ को वडाध्यक्षमा माओवादीका नारायण आचार्य, ८ मा कांग्रेसका देवबहादुर गुरुङ, ९ र १० मा एमालेका वीरबल चौधरी र दिलबहादुर थापा, ११ र १२ मा कांग्रेसका कमलप्रसाद च्वाई र चुडामणि पौडेल र वडा नं १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित भएका छन् ।
४६ हजार ३०१ मतदाता रहेको सुनवल नगरमा स्थानीय तह निर्वाचनमा विभिन्न ५० मतदान केन्द्रबाट ३४ हजार ४७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij