२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

गठबन्धनले एमालेलाई कमजोर आकलन गरेको रुपन्देहीका पालिकामा एमाले विजयी

सोमवार , जेठ ९, २०७९

भैरहवा, ९ जेठ ।
स्थानीय तहको निर्वाचनअघि नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै भनेका थिए, ‘एमाले कमजोर भएको पालिकामा गठबन्धन आवश्यक छैन, जहाँ एमाले प्रतिष्पर्धामा छैन, त्यहाँ गठबन्धनकै दलबीच मित्रवत् रुपमा प्रतिष्पर्धा हुन्छ । ’ सोही अनुसार सतारुढ गठबन्धनमा आबद्ध दलहरु रुपन्देहीको मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक्लाएक्लै प्रतिष्पर्धामा उत्रिए । केही पालिकामा वडामा समेत गठबन्धन भएको अवस्थामा ६ वटा पालिकामा भने गठबन्धन भएन ।

तर मतदाताले मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई, मर्चवारी र सम्मरीमाईबाहेक अन्य पालिकामा भने एमालेलाई जिताएका छन् । गैडहवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित तीन वटा वडाअध्यक्ष जितेको छ । एमालेका उम्मेदवार सुरेन्द्र पौड्याल अध्यक्षमा र माधुरी जैसवाल उपाध्यक्षमा विजयी भएका छन् । गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित पौड्यालले ५ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे । त्यस्तै जैसवाल ४ हजार ७ सय ५६ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भइन् । उनको निकटतम् प्रतिष्पर्धी कांग्रेसकी मन्जु न्यौपानेले ४ हजार ६ सय ५९ मत प्राप्त गरिन् ।

त्यस्तै वडा नम्बर १ मा चौधरी, ८ र ९ मा  पनि एमाले विजयी भएको छ । वडा नम्बर १ मा प्रदिप कुमार चौधरी, ८ मा भुवन बहादुर राना मगर र ९ मा मिना क्षेत्री निर्वाचित भएका छन् । गैडहवा गाउँपालिकामा ९ वटा वडा छन् ।

त्यस्तै मायादेवी गाउँपालिकामा पनि एमालेले तीनवटा वडा जित्न सफल भएको छ । एमालेले वडा नम्बर १, ४ र ८ मा जितेको हो । वडा नम्बर १ मा पल्टु लोध, ४ मा अरुण कुमार तिवारी र ८ मा चोक बहादुर मगर निर्वाचित भएका छन् । मायादेवी गाउँपालिकामा ८ वटा वडा छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एउटा वडा सदस्य समेत जित्न नसकेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एमालेले यसपटक उपप्रमुखसहित पाँच वटा वडा जित्न सफल भएको छ । एमालेबाट उपप्रमुखका उम्मेदवार कल्पना हरिजन विजयी भएकी छन् । हरिजन ६ हजार ५ सय ९० मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम् प्रतिष्पर्धी जनता समाजवादी पार्टी, नेपाल (जसपा) की सबनम जहाँ शेषले ६ हजार १ सय ४५ मत प्राप्त गरिन् ।

त्यस्तै लुसनपा वडा नम्बर १ मा एमाले उम्मेदवार सुरज जयसवाल, ३ मा अकरामुद्दीन नाउँ मुसलमान, ४ मा विनोद कुमार श्रीवास्तव, १० मा विनोद कहाँर र वडा नम्बर १२ मा हरिकेश लोध वडाअध्यक्षमा निर्वाचित भएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा १३ वटा वडा छन् ।

Uml (2).jpg

एमाले रुपन्देहीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका निर्वाचन परिचालन कमिटी सचिव सन्दिप गुप्ता विगतमा एमाले नेतृत्वको सरकारले गरेका लोकप्रिय कामहरुको मुल्यांकन मतदाताले गरेको बताउँछन् । उनले भने, ‘२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा गैडहवा गाउँपालिकामा एमालेले जित्न सकेन, सोहीअनुसार अपेक्षित रुपमा विकास निर्माणका कार्य हुन सकेन, एमालेकै नेतृत्वमा विकास हुन्छ भन्ने कुरा बुझेर अहिले मतदाताले पार्टीका उम्मेदवारलाई जिताउनुभएको छ ।’

एमालेले रुपन्देहीको बुटवल उपमहानगरपालिकामा उपप्रमुख, देवदह नगरपालिकामा प्रमुख, उपप्रमुख, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुख, गैडहवा गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष, ओमसतिया गाउँपालिकामा अध्यक्ष र शुद्धोधन गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।