
सोमवार , जेठ ९, २०७९
भैरहवा, ९ जेठ ।
रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएका छन् । पछिल्लोपटक मतपरिणाम आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिएका हुन् ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र गैडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
भैरहवाको बालमन्दिरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए ।
सोमबार सपथ लिनेहरुमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन खान, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले सपथ लिएका हुन् । उनीहरुले आ–आफ्नो पालिकामा अन्य जनप्रतिनिधिलाइ सपथ गराउने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा देखाएको उर्जा काममा पनि लगाउन आग्रह गरे ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उनले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij