
मंगलवार , जेठ १०, २०७९
भैरहवा, १० जेठ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ मध्ये १५ पालिकाको मतगणनाको परिणाम सार्वजनिक भएको छ । अब तिलोत्तमा नगरपालिकाको मतपरिणाम सार्वजजिक हुन मात्र बाँकी छ । पछिल्लो मतपरिणाम अनुसार १५ मध्ये ९ पालिकामा प्रमुख/अध्यक्षमा विजयी हुँदै नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक, सैनामैना नगरपालिका, मायादेवी, सियारी, सम्मरीमाई, शुद्धोधन र कञ्चन गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।
नेकपा एमालेले देवदह नगरपालिका, ओमसतिया र गैडहवा गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले (लोसपा)ले कोटहीमाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र मायादेवी गाउँपालिकाको उपाध्यक्षमा जितेको छ ।
हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जितेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले रोहिणी गाउँपालिकाको अध्यक्ष जितेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रोहिणी गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
जसपा भन्दा लोसपा बलियो
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा तेस्रो रहेको कांग्रेस यसपटक पहिलो बन्दा दोस्रो रहेको जनता समाजवादी पार्टी (तत्कालिन संघीय समाजवादी फोरम, नेपाल) ले एक पालिकाको अध्यक्ष मात्रै जितेको छ । अघिल्लो निर्वाचनमा एमाले र जसपापछि कांग्रेस तेस्रो दलमा खुम्चिएको थियो ।
त्यतिबेला जसपाले रोहिणी, गैडहवा, कोटहीमाई, मर्चवारी गाउँपालिकामा जित हासिल गरेको थियो । यसअघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको गैडहवा, कोटहीमाई र मर्चवारी जसपाले गुमाएको छ ।
यसपटक जसपाले रोहिणीमा मात्र अध्यक्ष पद जितेको छ । रोहिणीमा जसपाका विद्या प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ताहिर अली भाटलाई पराजित गर्दै विजयी भएका छन् । रोहिणीको उपाध्यक्षमा भने अघिल्लो निर्वाचनमा विजयी भएकी राप्रपाकी शिवकान्ति हरिजन पुनः निर्वाचित भएकी छन् ।
जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) रुपन्देहीमा जसपा भन्दा बलियो देखिएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको गृह जिल्ला रुपन्देहीमा यसपटक पार्टीले कोटहीमाई गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा मायादेवी गाउँपालिकाको उपाध्यक्षमा जितेको छ । कोटहीमाईको अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा शुशिला कुमार यादव निर्वाचित भएका छन् । त्रिपाठीले ४ हजार ६ सय ३८ मत ल्याउँदा उनका निकटतम् प्रतिष्पर्धी नेपाल जनता पार्टीका उम्मेदवार अशोक कुमार कलवारले ४ हजार २ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ४ हजार ७ सय ३६ मत ल्याउँदा उनको निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४ सय ४२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै मायादेवी गाउँपालिका उपाध्यक्षमा नर्वदा देवी उपाध्याय निर्वाचित भएकी छन् । उपाध्यायले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसकी तारादेवी यादव उपाध्यक्षमा निर्वाचित भए पनि यसपटक भने उनी पराजित भइन् ।
लोसपाले कोटहीमाई गाउँपालिका वडा नम्बर १, ४, ५, मर्चवारी गाउँपालिका वडा नम्बर १, २, ४, सम्मरीमाई गाउँपालिका वडा नम्बर २, ७, मायादेवी गाउँपालिका वडा नम्बर ६, ८, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ को गवडाअध्यक्षमा जितेको छ ।
त्यस्तै जसपाले सिद्धार्थनगर नगरपालिका–१, कोटहीमाई–२, ५, रोहिणी–५, लुम्बिनी साँस्कृतिक नगरपालिका–२, ५, ९ र शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा जितेको छ ।
जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज देवेन्द्र पाण्डेय ‘सागर’ले निर्वाचनमा जनमत तल–माथि हुनु स्वभाविक भएको बताए । उनले भने, ‘के कारणले जसपाको सिट घट्यो, कहाँ कमी–कमजोरी रह्यो, यसबारे समीक्षा बैठक बसेर सुधार गर्दै अगाडी बढ्छौं । उनले मतका हिसाबले हेर्ने हो भने रुपन्देहीमा जसपाको केही मत घटे पनि आत्तिनुपर्ने अवस्था भने नरहेको बताए । नेता पाण्डेयले भने, ‘समीक्षा बैठक बस्न भ्याएका छैनौं, बैठक बसेपछि कारणसहित आउँछौं । ’
लोसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले लोसपाले विगतमा सरकारमा हुँदा वा प्रतिपक्षमा रहँदा मधेशका मुद्दा निरन्तर उठाएकाले रुपन्देहीमा पार्टीले सम्मानजनक रुपमा जित हासिल गरेको बताए । उनले भने, ‘संविधान संसोधनका लागि निरन्तर आवाज उठाउँदै आएका छौं, मधेशका मुद्दामा हाम्रो पार्टी अडिग छ, त्यसलै लोसपा जनताको रोजाइमा परेको छ, स्थानीय सरकारमा हाम्रा पार्टीका उम्मेदवारहरुले जितेका छन् । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij