२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

सिद्धार्थनगर–४ का अध्यक्ष भन्छन्,– ‘शासक होइन सेवक भएर काम गर्नेछु’

बुधवार , जेठ ११, २०७९

भैरहवा, ११ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले जनताको शासक नभइ सेवक भएर काम गर्ने बताएका छन् । उनले जनतालाई शासकको नभइ सेवकको आवश्यकता रहेको र जनताले सेवक निर्वाचित गर्नुभएकोले पाँचवर्ष कसैलाई कुनै प्रकारको अप्ठ्यारो पार्ने काम नगर्ने बताए ।

बुधबार पदभार ग्रहण गर्दै वडाअध्यक्ष यादवले आफूले माइक समातेर बोलेको मात्र नभइ काम पनि गरेकाले त्यसको मुल्यांकन जनताले गरेको बताए । उनले वडाभित्र क्रियाशिल क्लब, संघ–संस्था तथा वडाबासीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘पहिलो कार्यकालको पाँचवर्ष धेरै कुरा अध्ययन गर्नुपर्ने थियो, धेरै कुरा पनि सिके जसले गर्दा अब अनुभव पाइसकेको छु, जनताको सल्लाह सुझाव अनुसार आफ्नो कार्यकाल अगाडी बढाउँछु ।’ जनताले आफूलाई जिताउन बगाएको पसिना खेर जान नदिने उनको भनाइ थियो ।

उनले भने, ‘तपाईहरु विश्वस्त हुनुहोस्, म कुनै धर्म, जाति, समुदाय विशेषको नेतृत्व गर्न आएको होइन, नेपालीको नेतृत्व गर्न आएको हुँ, त्यसैले कसैलाई काखापाखा गर्नेछैन ।’

वडाअध्यक्ष यादवले आफूलाई वडा नम्बर ४ का जनताले ठूलो जिम्मेवारी दिनुभएकोले सर्वप्रथम वडामा रहेका लालपूर्जाबिहीन नागरिकलाई लालपूर्जा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न भइसकेकाले यहाँ सिद्धार्थनगर–४ का स्थानीयलाई प्राथमिकता दिएर रोजगारी दिनुपर्ने बताए । उनले भने, ‘विमानस्थलमा योग्यताअनुसार स्थानीयलाई रोजगारीको व्यवस्था हुनुपर्छ भन्ने कुरा विगत ५ वर्षदेखि भन्दै आएको छु र अहिले पनि भन्दैछु, विमानस्थलले आनाकानी गरे जनसमुदायको घरघरमा पुगेर जसरी मत माग्न पुगेको थिए, त्यही तरिकाले वडाबासीको सहयोग लिएर एअरपोर्टमा जागिर दिलाउने व्यवस्था गराउनेछु । ’

उनले आफू र आफ्नो टीमले वडामा निर्माण हुन बाँकी रहेका सडक, नाला र शिक्षालाई प्राथमिकता दिने बताए । उनले मठ, मन्दिर, मस्जिद, विद्यालय सबैलाई समेटेर वडाको विकासमा लाग्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मुक्तिनाथ यादव (भोला) वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए ।