तुलसीपुर, ११ जेठ ।
दाङ तुलसीपुरमा पहिलो पटक थारू महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस् या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारूको प्रतिनिधित्व थिएन । विसं २०४९ मा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुवै पुरुष थिए । प्रमुखमा शंकरप्रसाद आचार्य थिए भने उपप्रमुखमा प्रदीपबहादुर श्रेष्ठ थिए ।
त्यतिबेला दुवै पद कांग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा प्रमुख पदमा एमालेका ढुण्डिराज लामिछाने थिए भने उपप्रमुखमा एमालेकै घनश्याम पाण्डे थिए । पाण्डे २०७४ सालको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए । त्यस्तै उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित भएकी थिइन् ।
अहिलेको निर्वाचनबाट भने तुलसीपुरले थारू महिला पाएको छ । नीति निर्माण तहमा थारू महिला पुग्नु भनेको थारू समुदायका लागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपप्रमुख स्यानी चौधरीले बताइन् । “तुलसीपुर थारू समुदायको बाहुल्यता भएको ठाउँ हो,” उनले भनिन्, “तर अहिलेसम्म प्रमुख, उपप्रमुखमा थारू महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।”
को हुन्, स्यानी ?
बालबालिका सडकमा हिँडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघिसकेको हुन्छ । के खाउँ, के गरौँ भइरहेको हुन्छ । यो दृश्य स्यानी चौधरीले देख्छिन्, अनि उनका आँखा रसाउँछन् र सोच्नुहुन्छ, यस्ता बालबालिकालाई मैले पाल्छु ।
न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग । मात्र आफ्नै लगानीमा दिदी संघसंस्था दर्ता गरिन् । त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिइन् । तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित आफ्नै घरमा उनले उक्त संस्था सञ्चालनमा ल्याएर सहाराविहीन बनेका, सडकमा भाँैतारिएर हिँड्ने बालबालिकालाई आश्रय दिँदै आएकी छन् ।
उनले आफ्नै कमाईबाट बालबालिकालाई पालन पोषण गर्न थालिन् । “मेरा छोराछोरी पनि छैनन्,” उनले भनिन्, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।” अहिले उनीसँग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भए पनि केही महिनाअघि देखि फूलबारीमा पनि शाखा विस्तार गरेकी छन् । विसं २०६१ मा उनले ‘दिदी घर’ संस्था सञ्चालन गरेकी हुन् । विसं २०६१ देखि २०७२ सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिब विद्यार्थीलाई आर्थिक सहयोग पनि गरिन् । उनकै आर्थिक सहयोगमा पढेका विद्यार्थी अहिले केही डिग्री पास पनि गरिसकेका छन् । कोहीले लयर पढ्दैछन्, कोही जागिरे छन् । विसं २०७३ देखि उहाँले १० जना बालबालिकालाई राखेकी हुन् । उनले बालबालिकालाई पालनपोषणदेखि शिक्षादीक्षा समेत दिने गरेकी छन् । उनीहरुलाई पढाउनका लागि घरमै पनि शिक्षिका राखेकी छन् ।
त्यस्तै बालबालिकाको पठनपाठन र शिक्षादीक्षाका लागि सर्वसुलभ र निःशुल्क शिक्षा बनाउने स्यानीले योजना बनाएकी छन् ।
‘छोरी पढ्नु हुन्न भन्ने मान्यता थियो’
थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुन्, स्यानी । पढाइ जीवनका उनका संघर्ष पनि कम छैनन् । उनको घर पहिले फूलबारी हो । त्यहाँ विद्यालय थिएनन् । त्यसैले उहाँ पढ्नका लागि उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा बर्सादको बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुंगा हुन्थ्यो । यदि डुंगा नभएको अवस्थामा उनी आफैँ पनि पौडी खेलेर वारपार गर्थिन् ।
त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिइन् तर निकै कठिन संघर्ष गरेर । “छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो,” उनले भनिन्, “त्यसपछि म आफै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे ।” थारू समुदायमा व्याप्त कमैया, कम्लहरी प्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योगदान गरेकी छन् । पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न समेत वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोसजाँगर दिने काम गर्दै आएकी छन् । रासस