
बिहिवार , जेठ १२, २०७९
भैरहवा, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर कमिटीले रुपन्देहीमा सञ्चालित होटल क्यासिनोहरुमा नेपालको कानूनविपरीत नेपाली युवाहरुलाई जुवा तास खेलाउने गरिएको जानकारी आएको भन्दै त्यसलाई रोक्न माग गरेको छ । नक्कली भारतीय आधारकार्ड बनाइ गैरकानूनी रुपमा क्यासिनोमा जुवातास खेलाउने कार्य रोक्नुपर्ने माग गर्दै नेकपा (एस) सिद्धार्थनगरले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा (एस) रुपन्देहीका युवा इञ्चार्ज कुलेन्द्र पुनले राज्यको नियमविरीत यस्ता गलत कार्य गर्ने गराउने क्यासिनो सञ्चालकहरुलाई अविलम्ब कारवाही हुनुपर्ने माग गरे । नेपाली युवाहरुलाई अवैध रुपमा क्यासिनोमा जुवातास खेलाउँदा धनसम्पत्तिको नोक्सानी हुनुका साथै परिवारले पनि दुःख पाएको पुनले बताए ।
क्यासिनोमा नेपालीको प्रवेश रोक्नका लागि प्रहरी–प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ छ । यदी क्यासिनोमा नेपालीको प्रवेश नरोकिए सिंगो संगठन त्यसकाविरुद्ध अगाडी बढ्ने उनले चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिवारीले कानून भन्दा बाहिर गएर कुनै पनि गतिविधि नगर्न अनुरोध गर्ने बताए । उनले भने, ‘त्यो अनुसार क्यासिनो सञ्चालकहरुले कानूनको पालना गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गछौं र भएन भने कानूनबमोजिम कारवाही गछौं, यहाँहरुले उठाउनुभएको चासोको लागि धन्यवाद दिन्छौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij