
बिहिवार , जेठ १२, २०७९
काठमाडौं, १२ जेठ ।
प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।
यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताए । उनले आफू नेतृत्वको सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गरे । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गरे ।
आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उनले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गरे । उनले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गरे ।
संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरे । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाए ।
उनले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्ता स्वार्थमा संकुचित बनाइएको आक्षेप पनि लगाए । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij