
बिहिवार , जेठ १२, २०७९
भैरहवा, १२ जेठ ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्यानलै विजयी भएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा एमालेको प्यानल विजयी भएको हो । यो नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख (मेयर) पदका उम्मेदवार रामकृष्ण खाँण समेतको उक्त वडामा एमालेले क्लिन स्वीप गरेको हो ।
तिलोत्तमा नगरपालिकाको–८ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ वडाअध्यक्षमा विजयी भएका छन् । पौडेल २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाअध्यक्ष निर्वाचित भएका थिए ।
३ हजार ४ सय ६८ मत खसेको उक्त वडाको अध्यक्षमा एमालेका कृष्ण प्रसाद पौडेलले १ हजार ६१५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए ।
त्यसै गरी एमालेका उम्मेदवारहरु महिला सदस्यमा कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई, वडा (खुल्ला) सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij