
शुक्रवार , जेठ १३, २०७९
भैरहवा, १३ जेठ ।
पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा भएको मूल्यविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट तीन वटा भातृ संगठनले भैरहवामा डेढ घण्टा सवारीसाधन रोक (चक्काजाम) गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा संघ, नेपाल र अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगर कमिटीले शुक्रबार बेलुकी ५ बजेदेखि साढे ६ बजेसम्म भैरहवास्थित बुद्धचोकमा चक्काजाम गरेको अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य तथा सिद्धार्थनगर उपाध्यक्ष विवेक भण्डारीले बताए ।
अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका दैनिक उपभोग्य वस्तुमा भएको महंगीले सीमा नाघेकोले आन्दोलनमा उत्रिनुपरेको बताइन् । उनले महंगीका कारण विपन्न परिवारलाई हातमुख जोर्न समस्या भएकाले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारलाई खबरदारी गर्न चक्काजाम गरिएको बताइन् । जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने उनले माग गरिन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले वर्तमान गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले मूल्यवृद्धि फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला सह–सचिव विष्णु भट्टराईले गठबन्धन सरकारको क्रियाकलापका कारण जनताले दुःख पाइरहेको बताइन् ।
सोही क्रममा अनेमसंघले मूल्यवृद्धिको सांकेतिक विरोध स्वरुप सडकमै चिया पकाएको छ । सरकारलाई मूल्यवृद्धि फिर्ताका लागि दबाब दिन बुद्धचोकमै चिया पकाइएको अनेमसंघ सिद्धार्थनगर कमिटीकी अध्यक्ष पार्वती पौडेलले बताइन् ।
राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले मूल्यवृद्धिको विरोधमा आन्दोलन सुरु गरिएको र सरकार आफ्नो निर्णयबाट पछि नहटे आन्दोलनको आधिबेरी सिर्जना गर्ने चेतावनी दिए ।
अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष सुनिल खनालले आन्दोलनमा सहयोग गर्ने सम्पूर्ण नागरिकलाई धन्यवाद दिए ।
चक्काजाममा सहभागि एमाले निकट भातृ संगठनका नेता कार्यकर्ताहरुले मूल्यवृद्धि फिर्ता गर, गठबन्धन सरकार मूर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड बोक्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij