२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

कार्यपालिका निर्वाचन : सिद्धार्थनगर नगरपालिकामा एमाले–राप्रपा विजयी

शनिवार , जेठ १४, २०७९

भैरहवा, १४ जेठ ।
सिद्धार्थनगर नगरपालिका, कार्यपालिकाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरु विजयी भएका छन् । 

८ कार्यपालिका सदस्य पदमा शनिबार भएको निर्वाचनमा एमालेबाट ५ र राप्रपाबाट ३ जना सदस्य निर्वाचित भएका हुन् । एमालेबाट बीना माया ज्ञवाली, रुपा कुमारी सुनार बराइली, द्रुपदा पनेरु, सविता हरिजन, सुभावती चमारले समान ३६/३६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

राप्रपाका गयीतिरा चमारले ३५, शिवनारायण कोइरीले ३८ र केदार प्रसाद बरईले ३७ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यका आठै जना उम्मेदवार पराजित भएका छन् ।

सिद्धार्थनगर कार्यपालिकामा जम्मा २३ जना सदस्य रहनेछन् । नेकपा एमालेका १ उपप्रमुख, ४ वडा अध्यक्ष र ५ जना सदस्य गरी जम्मा १० जना कार्यपालिकामा प्रतिनिधित्व गर्ने भएका छन् । राप्रपाका ३ वडा अध्यक्ष र ३ सदस्य गरी जम्मा ६ जना कार्यपालिका सदस्यमा प्रतिनिधित्व गर्ने भएका छन् । नेपाली कांग्रेसबाट प्रमुख १ र वडा अध्यक्ष ५ गरी जम्मा ६ जना सदस्यले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) वडा नम्बर १ का अध्यक्ष गरी कार्यपालिका सदस्य १ जनाले प्रतिनिधत्व गर्नेछन् । 

२३ सदस्यीय कार्यपालिकामा मेयर र उपमेयर गरी २ र १३ जना वडा अध्यक्ष रहेका छन् । जसमा ८ सदस्यीय कार्यपालिकाकोे निर्वाचनमा एमालेले ५ र राप्रपाले ३ जना कार्यपालिका सदस्य हुने गरी एमाले र राप्रपाले गठबन्धन गरेका थिए । मतदानमा सिद्धार्थनगरका निर्वाचित ६७ सदस्य (जनप्रतिनिधि) सहभागि भएका थिए । ७० सदस्यीय नगरसभामा कांग्रेसको ३०, एमालेको २१, राप्रपाको १८ र जसपाको १ जना सदस्य रहनेछन् ।