
शनिवार , श्रावण १०, २०७७
तिलोत्तमा, १० साउन ।
तिलोत्तमा नगरपालिकाले ६ लेन सडकको बीच भागमा लगाएको स्टोनियाको विरुवा मानिसको स्वास्थ्यका दृष्टिले हानीकारक रहेको यसको विकल्प खोज्न तिलोत्तमा स्वतन्त्र युवा समूहले माग गरेको छ ।
शुक्रबार नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै युवा समूहले स्टोनियाको विरुवा आयुर्वेदिक औषधिका लागि राम्रो मानिए पनि अध्ययनका क्रममा मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने देखिएको दावी गरेको हो ।
स्टोनियाको विरुवाको परागकणको सुगन्धले दम र चिसोका बिरामीलाई मुख्य असर गर्दै एलर्जी, ज्वरो, आँखाको समस्या निम्तिने भएकाले यसतर्फ सचेत हुनुपर्ने युवा समूहको भनाइ छ । स्टुनियाको बोटमा पातको पित्तको समस्या विकराल रुपमा देखा परेको र यो अध्ययनका क्रममा देखिएको समूहका अध्यक्ष केशव पंगेनीले बताए । यो समस्याको विस्तृत अध्ययन गर्न कोटिहवादेखि योगीकुटीसम्म नमूना संकलन गरिएको र त्यसको अध्ययनको क्रममा स्वास्थ्यमा प्रतिकुल असर पार्ने तत्व देखिएको समूहका सदस्य विवेक डुम्रेले बताए ।
नगर उपप्रमुख जागेश्वरदेवी चौधरीलाई ज्ञापनपत्र बुझाउँदै समूहका सदस्यहरुले वृक्षारोपणमा नगरपालिकाले ठूलो धनराशी खर्च गरेकाले मानिसको स्वास्थ्यमा असर नगर्ने, नगरको सुन्दरता झल्किने र नगरबासीलाई फाइदा पुग्ने गरी वृक्षारोपण गर्न ध्यानाकर्षण गराएका थिए । स्टुनियाको वृक्षारोपण नगर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको समूहका सदस्य सुरज क्षेत्रीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij