शनिवार , मंसिर १२, २०८३
भैरहवा, १२ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा अवस्थित रामवन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा १५ लाख ३४ हजार ५४६ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार सहकारीले उक्त मुनाफा आर्जन गर्न सफल भएको हो । सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत तथा सहकारीप्रतिको विश्वासका कारण संस्था आर्थिक तथा संस्थागत रूपमा अगाडि बढिरहेको जनाइएको छ ।
संस्थामा हाल १ हजार १६४ जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पुँजी १ करोड १८ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ९२ लाख १५ हजार ९८६ रुपैयाँ रहेको छ । सहकारीले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न बचत तथा ऋण कारोबारसँगै विभिन्न सामाजिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ ।
संस्थाका संस्थापक अध्यक्ष बाबुराम भण्डारीले २०६२ सालमा स्थापना भएको सहकारीले स्थापनाकालदेखि नै निरन्तर प्रगति गर्दै आएको बताउनुभयो । सुरुवाती अवस्थादेखि विभिन्न चुनौती पार गर्दै संस्था अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै उहाँले सदस्यहरूको साथ, सहयोग र विश्वास नै सहकारीको सफलताको आधार भएको बताउनुभयो सहकारीलाई थप व्यवस्थित र सबल बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै संस्थाका अध्यक्ष सुशील पाण्डेले रामवन सहकारी अन्य सहकारीभन्दा फरक पहिचान बनाउन सफल भएको दाबी गर्नुभयो । सबै समुदाय र सबै उमेर समूहका व्यक्तिहरूको सहभागीता रहेको संस्था समावेशी चरित्रको रहेको उल्लेख गर्दै उहाँले सहकारीले सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभयो । सहकारीलाई आर्थिक कारोबारमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र सदस्यहरूको क्षमता अभिवृद्धिमा समेत जोड दिइएको उहाँले बताउनुभयो ।
साधारण सभाका अवसरमा संस्थाले ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान तथा उत्कृष्ट ऋणी सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । विभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्य तथा विद्यार्थीलाई सम्मान गरेर सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ ।
कार्यक्रममा खेमराज पाण्डे कृष्ण प्रसाद भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका कोषाध्यक्ष चन्द्रकान्त भण्डारीको स्वागत तथा लक्ष्मी प्रसाद भुर्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले साधारण सभाकै अवसरमा खाली रहेका समितिमा पदपूर्ति समेत गरेको छ । उपाध्यक्षमा उमेश कुमार शाही र लेखा सुपरीवेक्षक समिति सदस्यमा तुलसीराम भण्डारीलाई निर्वाचित गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij