
बिहिवार , जेठ १९, २०७९
भैरहवा, १९ जेठ ।
बाँकेको नेपालगंजमा स्व. राजा विरेन्द्र शाहको आज स्थापना गरिएको सालिकलाई सुरक्षाकर्मीद्वारा तोडफोड गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले विरोध सभा गरेको छ । स्व. राजा विरेन्द्रको सालिक पुनःस्थापनाको माग गर्दै भैरहवास्थित मिलन चोकमा विरोध सभाको आयोजना गरिएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
कार्यक्रममा राप्रपा रुपन्देहीका उपाध्यक्ष गुप्ता, जिल्ला सचिव बलराम शर्मा, प्रवक्ता दिलिप कुमार मल्लिकले बोल्दै नेपालगंजमा सरकारी पक्षद्वारा स्व. राजा विरेन्द्रको पुनःस्थापित सालिक तोडफोड गर्नु निन्दनीय भएको बताए । उनीहरुले राप्रपा कार्यकर्ताहरुलाई पक्राउ तथा लाठीचार्ज गर्नु गलत भएको बताए ।
राप्रपा रुपन्देहीका उपाध्यक्ष गुप्ताको अध्यक्षता तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला), छेदीलाल श्रीवास्तव, सिद्धार्थनगर उपाध्यक्ष कृष्ण अर्याल, नेतृ विनिता गुप्ता, नेताहरु नारायण उपाध्याय, अर्जुन थापा, गोपाल भण्डारी, अर्जुन घिमिरे, तुफेल पठान, केदार बरई, दिनेश गुरुङ, दिपेश प्रताप शाही (दीपु) लगायतको उपस्थिति रहेको थियो ।
बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा ०६२/६३ को जनआन्दोलनमा विरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि विरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु विरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij