
सोमवार , जेठ २३, २०७९
रुपन्देही, २३ जेठ ।
जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीको सबै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्विरोध चयन भएका छन् । पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुईतिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।
जिससको प्रमुखमा जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी गाउँपालिका–५ मैदान निवासी कोइराला एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।
त्यसैगरी उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव–१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।
त्यसै गरी समन्वय समितिको खु्ल्ला सदस्यमा पाणिनी–७ का कमल घिमिरे, भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा टुल्कादेबी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) चयन भएका छन् । दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएका छन् ।
जिल्लाका ६ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख तथा दुईवटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित सुनिश्चित भएको थियो ।
समन्वय समिति गठनको निम्ति आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र माओवादी केन्द्रको १ मत रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij