
सोमवार , जेठ २३, २०७९
बुटवल, २३ जेठ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार, सिद्धान्त र आदर्श विपरीत नेताहरु हिंडेका कारण पार्टीमा समस्या परिरहेको एमालेका नेताहरु तथा बुद्धिजीवीले बताएका छन् ।
वक्ताहरुले पार्टीमा अहिलेको अवस्था सिर्जना हनुमा मदन र आश्रितको विचार र भावनामा हिड्न नसक्नु र व्यक्तिगत स्वार्थ हावी हुनु रहेको बताएका हुन ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको ११ औं साधारणसभा तथा चौथो अधिवेशको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले अहिले पार्टीमा कुशल संगठक आश्रितको अभाव खड्किएको पनि बताए ।
कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदीले आश्रितले देखाएको बाटोमा हिड्न जरुरी रहेको बताए । आश्रित प्रतिष्ठाका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले कम्युनिष्ट पार्टीहरु आश्रितको भावना र संगठनको अनुशासनमा हिड्न नसकेको बताए । पार्टीमा देखिएका समस्या यसैको उपज भएको भन्दै उनले जनताको सेवामा भन्दा आफ्नो स्वार्थमा केन्द्रीत हुँदै जादा समस्या बढ्दै गएको बताए ।
एमाले नेता बाबुराम भट्टराईले सबैले आश्रितका विचारहरुलाई पछयाउँदा समाज परिवर्तन गर्न सहज हुने बताए । उनले पार्टीमा अनुशासनको खडेरी परेकोले सबैले उहाँको जीवनशैली, संगठनमा रहँदा गरेका कामको मसिनो गरी अध्ययन गर्न र सोही बाटोमा हिड्न जरुरी रहेको बताए ।
आश्रित प्रतिष्ठाका प्रथम उपाध्यक्ष चरणदास तिमिल्सेनाले आश्रितको विचार सबैका लागि मार्गदर्शक भएको बताए । उनले नेपाली समाजमा आश्रितको अतुलनीय योगदान रहेकाले सबैले उहाँले देखाएको बाटोमा हिडे समाज परिवर्तन हुने बताए ।
कार्यक्रममा अध्यक्ष उमाकान्त बस्यालले प्रतिष्ठानको सोच लक्ष्य अनुसार काम भइरहेको बताए । कोरोना कहरका कारण प्रतिष्ठानका काम सोचेअनुसार सबै गर्न नसकिएको उनले बताए ।
कार्यक्रममा महासचिव कल्पना थापाले प्रतिष्ठानको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष प्रकाश अर्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानले आफ्ना गतिविधि र जीवराज आश्रितसंग सम्बन्धित लेख रचना भएको दोस्रो आश्रित स्मारिकाको विमोचन पनि गरिएको थियो ।
प्रतिष्ठानको अध्यक्षमा चरणदास तिमेल्सेना
चौथो अधिवेशनले चरणदास तिमेल्सेनाको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा युवराज घिमिरे, उपाध्यक्षहरुमा नारायणबाबु बस्नेत, भुमिलाल सापकोटा, विमला श्रेष्ठ, ऋषिराम पाण्डे र होमराज बस्याल निर्वाचित भएका छन् । त्यसै गरी महासचिवमा कल्पना थापा ,सचिव विष्णु केसी र कोषाध्यक्षमा प्रकाश अर्याल र सहसचिवमा शुसिला न्यौपाने, निर्मल पाण्डे र मोहोनीलाल रिजाल निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा गोपाल न्यौपाने, कृष्णकुमारी थापा, कृष्ण पोखरेल, टोपलाल शर्मा, राजेन्द्र क्षेत्री, केशव भण्डारी, लक्ष्मीदेवी ज्ञवाली, तुल्सीराम पोखरेल, अनन्तराज सिलवाल ,दुर्गा गौतम, अप्सरा पाण्डे र जुनाकुमारी शर्मा निर्वाचित भएका छन् ।
अधिवेशनले रामप्रसाद पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि निर्वाचित गरेको छ । लेखा समिति सदस्यमा हिराबहादुर केसी र नारायण अर्याल रहेका छन् । संस्थामा ४०२ जना सदस्य रहेका छन । आजीवन र विशिष्ट सदस्यका लागि सदस्यता खुला गरिएको प्रतिष्ठानले अध्यक्ष चरणदास तिमेल्सेनाले जानाकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij