
बिहिवार , जेठ २६, २०७९
भैरहवा, २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले कम्युनिष्ट पार्टीमा भावनात्मक रुपमा एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले पार्टीमा जतिसुकै अन्तरसंघर्ष भए पनि भावनात्मक रुपमा एकताबद्ध हुन नसके जित हासिल गर्न नसकिने बताए ।
नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीले बुधबार भैरहवामा आयोजना गरेको समीक्षा बैठकमा बोल्दै प्रमुख अतिथि नेता न्यौपानेले निर्वाचन हार्दैमा निराश हुनुपर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘पार्टी मन नपरे र पार्टीमा बस्नुपर्छ भन्ने छैन, तर पार्टीविरुद्ध कुनै पनि गतिविधि गर्नुहुँदैन ।’ उनले कम्युनिष्ट पार्टीमा विचार र बहस गर्ने नाममा कहिलेकाहीं गुट बन्नु स्वभाविक भएको बताए । पार्टीलाई सशक्त ढंगले अगाडी बढाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘मतको हिसाबले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो, पार्टीलाई अझ सशक्त ढंगले अगाडि बढाउनुपर्छ । ’मुलुक समृद्ध बनाउनेतर्फ अघि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘म के हुन्छु भन्ने सवाल होइन, पार्टी कसरी अगाडि बढ्छ भन्ने मुख्य सवाल हो ।’
पार्टीका केन्द्रीय सल्लाहकार यज्ञजित शाहले निर्वाचनमा अन्तरघात गर्ने मान्छेको पहिचान गरी कारवाही गर्नुपर्ने बताए । उनले कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले जनमतको हिसाबले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताए । उनले पार्टीप्रति गद्दारी गर्नेमाथि कारवाही गर्नुपर्ने बताए । उनले भने, ‘एउटा पुसले जाडो जाँदैन, निराश हुनुपर्छ अवस्था छैन, अहिले भएका केही कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ ।’
एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले व्यक्ति प्रधान नभइ पार्टी प्रधान भएको बताए । उनले पार्टी बसेर अन्तरघात गर्ने छुट कसैलाई पनि नभएको बताए । उनले पार्टीलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्ने सिद्धार्थनगर कमिटीका सदस्य तथा स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएका नेता कार्यकर्ताहरुले अन्तरघातको कारण नै पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको बताए । उनीहरुले आफूले टिकट पाए जित्छु र नपाए हारिन्छ भन्ने मानसिकताका कारण पनि निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताए । उनीहरुले निर्वाचनमा अन्तरघात गर्नेमाथि कारवाही हुनुर्ने समेत माग गरेका थिए ।
एमाले सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २३ जना नेता कार्यकर्ताले निर्वाचनबारे धारणा राख्नुभएको एमाले सिद्धार्थनगरका सचिव भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij