२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

जिसस लमजुङमा एमाले विजयी

बिहिवार , जेठ २६, २०७९

लमजुङ, २६ जेठ ।
लमजुङको जिल्ला समन्वय समितिमा नेकपा (एमाले) विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका मुरली कुमाललाई चार मतअन्तरले पछि पार्दै एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालका अनुसार एमालेतर्फबाट नवनिर्वाचित गुरुङले १० मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका कुमालले ६ मत प्राप्त गरे । आज नै प्रमुख पदका लागि मतदान गरिएको थियो । मतगणना आजै गर्दै घोषणा गरिएको उनको भनाइ छ । समन्वय प्रमुख पदबाहेक उपप्रमुख लगायत आठ जना नै एमालेबाट निर्विरोध निर्वाचित भइसकेका थिए ।

सो पदहरुका लागि गठबन्धनका दलहरुले उम्मेदवारी नै दिएका थिएनन् । उपप्रमुखमा बुनाकुमारी रिमाल, महिला सदस्य बबिता मजाकोटी सार्की, विमला खड्का, सारदा साखीँ, खुल्ला सदस्यमा केशरबहादुर खत्री, शेरबहादुर बोगटी र मोहनबहादुर गुरुङ र दलित तथा अल्पसंख्यकबाट गमबहादुर दुरा निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेले एक नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै पाँच पालिकामा उपप्रमुख जितेको छ । कांग्रेसले चार पालिका प्रमुख जितेको छ । कांग्रेसले एक उपाध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा उपप्रमुख जितेको छ । गत स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र लगायतका गठबन्धन र एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । चार नगरपालिका र चार गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको यस जिल्लामा प्रमुख तथा उपप्रमुख गरी १६ जनाले मतदान गर्न पाउनेमा सबैले मतदान गरेका थिए । 

एमाले एक्लैको ९ भोट रहेको थियो भने गठबन्धनको ७ भोट मात्र रहेको थियो तर गठबन्धनको मतदाता एक जनाले पनि एमालेलाई नै भोट दिएपछि थप एक भोट प्राप्त गर्दै १० भोट पाउन सफल भएको छ । यसअघिअर्थात् पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडे पनि अहिले कांग्रेससहितको गठबन्धनसँग मिलेर एमालेविरुद्धमा चुनाव लडेको थियो । जिल्ला समन्वयमा यसअघि पनि सबै एमालेकै रहेको थियो । रासस