
बिहिवार , जेठ २६, २०७९
बलेवा, २६ जेठ ।
जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहीबार २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले बताए ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ । सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिनुभएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।
अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसको तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए । बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij