
बुधवार , आषाढ १, २०७९
भैरहवा, १ असार ।
रुपन्देहीमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) गठनमा साना दलहरूको साथ पाएको छ । आगामी असार ४ गते हुने जिल्ला समन्वय समिति रुपन्देहीको निर्वाचनमा कांग्रेसलाई साना दलहरुले साथ दिएका हुन् ।
कांग्रेससँग लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र जनता प्रगतिशील पार्टीबीच गठबन्धन हुने पक्का भएको छ । तालमेलको प्रयास गरिरहेको नेकपा (एमाले) भने एक्लै निर्वाचन लड्ने भएको छ ।
रुपन्देहीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि ३२ जना मतदाता छन् । जितका लागि १७ मत आवश्यक पर्छ । कांग्रेस नेतृत्वको गठबन्धनसँग २० मत रहेको छ । यो गठबन्धन कायमै रहेमा कांग्रेसको जित निश्चित छ । कांग्रेससँग १४, लोसपासँग ३, जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग १ र जनता प्रगतिशील पार्टीसँग २ मत छ । त्यस्तै एमालेसँग ११ मत मात्र रहेको छ । १ मत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दिएको छैन ।
जिससको प्रमुखमा गठबन्धनबाट कांग्रेसका उमाकान्त चापागाईं र उपप्रमुखमा लोसपाका रामकृपाल धोबी उम्मेदवार बनेका छन् । लोसपाले जिससको उपप्रमुख र दुईजना सदस्य पदमा उम्मेदवारी दिएको पार्टीका लुम्बिनी कार्यकारिणी सदस्य मोहम्मद इस्लाम खानले जानकारी दिए । एमालेबाट नरबहादुर थापाले प्रमुख र पवित्रा श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
प्यूठानमा कांग्रेसले पहिलोपटक पायो नेतृत्व
त्यस्तै प्यूठानमा नेपाली कांग्रेसले पहिलोपटक जिल्ला समन्वय समितिको नेतृत्व हात पारेको हो । यहाँ सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा समन्वय समिति गठन भएको हो ।
यहाँ राष्ट्रिय जनमोर्चाले २०४९ देखि २०७४ सालसम्म विभिन्न समयमा जिल्ला सभापति र समन्वय प्रमुख जित्दै आएको थियो । आफूहरुले प्यूठानले इतिहासमै पहिलोपटक समन्वय प्रमुख जितेको नेपाली कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले बताए ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एस) र राष्ट्रिय जनमोर्चाका बीचमा गठबन्धन भएको थियो । सोहीअनुसार जिससमा पनि गठबन्धन बनेको थियो । गठबन्धनबाट कांग्रेसका धरमबहादुर जिसी जिसस प्रमुख बनेका हुन् । सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल भएपछि समन्वय समितिमा एमालेले उम्मेदवारी नै दिएन ।
समन्वय समितिको उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएकी छन् । निर्वाचनअघि नै गठबन्धनबीच भएको सहमतिअनुसार माओवादी केन्द्र र जनमोर्चाले कांग्रेसलाई एक सदस्यसहित जिल्ला समन्वय समितिको सभापतिमा जिताउने प्रतिबद्धता गरेका थिए । माओवादीका २ जना सदस्य छन् ।
९ स्थानीय तहमध्ये ३ वटामा कांग्रेसले प्रमुख जितेको थियो । कांग्रेसले तीन प्रमुखसहित चार उपप्रमुख जितेको छ । माओवादी केन्द्रले तीन पालिका प्रमुख र एक उपप्रमुख जितेको छ । राष्ट्रिय जनमोर्चाले एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष तथा नेकपा एमालेले दुई पालिका प्रमुख र उपप्रमुख जितेको थियो ।
दाङमा कांग्रेस निर्विरोध
त्यसैगरी दाङको जिल्ला समन्वय समितिमा पनि कांग्रेसको नेतृत्व निर्वाचित भएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
गठबन्धनबाट प्रमुख र उपप्रमुखसहित ६ सदस्य कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले दुई सदस्यमात्र पाएको छ । प्रमुखमा नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भएका छन् । कांग्रेसबाट खुला सदस्यमा कुलबहादुर बुढा, महिला सदस्यमा हरिदेवी पोख्रेल, कल्पना शेर्पाइली, जुनकुमारी बुढा र कल्पना शेर्पाइली तथा दलित महिला सदस्यमा सरस्वती नेपाली निर्वाचित भएका छन् । माओवादी केन्द्रका खुला सदस्यमा टोपाराम चौधरी र दुर्पति चौधरी निर्वाचित भएका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले १ नगरपालिका र ४ गाउँपालिकामा प्रमुख, उपप्रमुख र दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ३ गाउँपालिकामा अध्यक्ष जितेको छ । एमालेले २ उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका साथै १ गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij