२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

कांग्रेस केन्द्रीय सदस्य कँडेल र नेता कलवारलाई कारवाहीको माग गर्दै उजुरी

शुक्रवार , आषाढ ३, २०७९

रुपन्देही, ३ असार । 
जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको निर्वाचनमा अन्तरघात गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवारलाई कारवाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्र विक्रम शाहीले २ नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् । उनले कांग्रेसभित्र बाटै अन्तरघात भएका कारण हार व्यहोर्नुपरेको दावी गरेका छन् । 

७ स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने ८ मत पुर्याएको कांग्रेसका उमेदवार शाही १ मतले पराजित भएका हुन् । प्रमुखबाहेक गठबन्धनका अन्य सबै उम्मेदवारले जितेका छन् । 

यता ५ मत रहेको एमालेले १ मत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेको थियो । निर्वाचनमा एमालेका प्रमुख पदका उमेदवारले ७ मत ल्याएर विजयी भएका थिए भने पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको १ मत बदर भएको थियो । अर्को १ मतमा अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई भोट दिए पनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो । 

अनुशासन समितिका जिल्ला संयोजक एवं पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका २ जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दाबी गरिएको छ । नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उम्मेदवारलाई भोट दिन लगाएकोले उनीहरुमाथि छानबिनसहित कारवाही गर्न माग गरिएको हो । 

जिल्लामा रहेका कांग्रेसका २ गुटका कारण यहाँ पटकपटक विवाद हुँदै आएको छ । एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधानसभा सदस्य विक्रम खनालको छ । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नु परेको जिल्लामा चर्चा छ ।

पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको हो । जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उम्मेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उम्मेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो । गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्धय कँडेल र कलवारप्रति आक्रोशित छन् ।

287858898_436973014606412_5755772207854617001_n.jpg