२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

जिससमा हारेपछि नवलपरासी कांग्रेसमा आरोप-प्रत्यारोप

आरोप प्रमाणित गर्न कँडेल र कलवारको चुनौती 

शनिवार , आषाढ ४, २०७९

रुपन्देही, ४ असार ।  
जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस नवलपरासी पश्चिममा आरोप-प्रत्यारोप सुरु भएको छ । जिसस प्रमुखका उम्मेदवार बालिन्द्रविक्रम शाहीले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र पार्टीका नेता तथा संविधानसभा सदस्य देवकरण कलवारलाई कारवाहीको माग गर्दै उजुरी दिएपछि कंडेल र जैसवालले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । 

शाहीले अन्तरघात भएका कारण हार व्यहोर्नु परेको दावी गर्दै २ नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका छन् । शाहीको उजुरीपछि कंडेल र कलवारले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको निर्देशनमा मत बदर गराइएको भन्ने आरोप कपोलकल्पीत र भ्रामक रहेको दावी गर्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । 

पाल्हीनन्दन गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट धोका भएको उल्लेख गर्दै विज्ञप्तिमा जिसस निर्वाचनमा पनि माओवादी केन्द्रबाट सहयोग भएकोमा शंका गरिएको छ । जिसस निर्वाचनका सन्दर्भमा आफूहरुसंग जिल्ला पार्टी नेतृत्वले कुनै छलफल परामर्श समेत नगरी माओवादीसंग गठबन्धन गरेको सञ्चारमाध्यमबाट थाहा पाएको विज्ञप्तिमा उल्लेख छ ।    

७ वटा स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने ८ मत पुर्याएको कांग्रेसका उम्मेदवार शाही १ मतले पराजित भएका हुन् । प्रमुखबाहेक गठबन्धनका अन्य सबै उम्मेदवारले भने जितेका छन् । 

५ मत रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १ मत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेको थियो । निर्वाचनमा एमालेका प्रमुख पदका उम्मेदवार भगौति यादव (रुदल) ले ७ मत ल्याएर विजयी भएका थिए । पराजित शाहीले ६ मत ल्याएका थिए ।

निर्वाचनमा प्रमुख पदको १ मत बदर भएको थियो । अर्को १ मतमा अन्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उमेदवारलाई भोट दिए पनि प्रमुख र उपप्रमुखमा सूर्य चिन्हमा दिइएको थियो । 

अनुशासन समितिका जिल्ला संयोजक तथा पार्टीका जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुईजना जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै मत नदिएर पराजित भएको दावी गरिएको छ । नेता कँडेल र कलवारकै निर्देशनमा आफ्नै जनप्रतिनिधि मतदातालाई एमाले गठबन्धनका उम्मेदवारलाई भोट दिन लगाएकोले उनीहरुमाथि छानबिनसहित कावबाही गर्न माग गरिएको हो । 

जिल्लामा रहेका कांग्रेसका दुई गुटका कारण यहाँ पटकपटक विवाद हुँदै आएको छ । एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा संविधानसभा सदस्य विक्रम खनालको छ । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नुपरेको जिल्लामा चर्चा छ ।

Ujuri (1).jpg

पछिल्लोपटक भएको जिसस निर्वाचनमा पनि गुटकै कारण कांग्रेसले हारेको चर्चा छ । जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उम्मेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उमेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै कांग्रेसकै मतदातामाथि निगरानी बढाउन थालिएको थियो । गुटकै कारण हार व्यहोर्नुपरेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्वय कँडेल र कलवारप्रति आक्रोशित छन् ।