
गुटगत निर्णय मान्य छैन : उपसभापति पौडेल
आइतवार , आषाढ ५, २०७९
रुपन्देही, ५ असार ।
नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समितिले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै जिल्ला उपसभापतिसहित १० जना नेतालाई कारवाही गरेको छ । वीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका १० जनालाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।
शनिवार सम्पन्न जिल्ला कमिटी बैठकले स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै जिल्ला उपसभापति बाबुराम पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरिएको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए।
कांग्रेसले स्थानीय निर्वाचनमा अन्तरघात गरेका पार्टीका उपसभापति बाबुराम पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरेको छ । त्यस्तै पाणिनी– ६, धातिवाङका सभापति मोदनाथ पौडेल, पाणिनी– ८ पालिका पूर्वसभापति यज्ञप्रसाद पौडेल, भूमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनीलाई कारवाही गरएिको कांग्रेस अर्घाखाँची स्रोतले जनाएको छ ।
महाधिवेशन प्रतिनिधि सृजना विक, पाणिनी– ८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरिएको कांग्रेस अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।
स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरिएको छ ।
कारवाहीमा परेका उपसभापति पौडेलले आफूलाई औपचारिक जानकारी नआएको बताए । ‘गुटगत बैठक बसेको सुनेको हो । केही दिनयता नियमित बसेको थियो, कोरम नपुगेर सरेको थियो । यस्ता निर्णयले पार्टी कमजोर हुन्छ । त्यो निर्णय मान्य हुने छैन’, उनले भने । पौडेलले संघ र प्रदेशको निर्वाचनको तयारी गर्नुपर्ने बेला सभापतिले व्यक्तिगत इगो राख्ने काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij