
सोमवार , आषाढ ६, २०७९
रुपन्देही, ६ असार ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व चयन भएको छ । १२ वटा जिल्लामध्ये ६ वटा जिल्लामा प्रमुख र ३ जिल्लामा उपप्रमुख जितेर नेपाली कांग्रेस पहिलो भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४ जिल्लामा प्रमुख र २ जिल्लामा उपप्रमुख जितेर दोस्रो स्थानमा रहेको छ ।
नेकपा (माओवादी केन्द्र) ले २ प्रमुख र ५ उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले २ उपप्रमुख जितेको छ । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका १२ वटै जिससमा प्रमुख र उपप्रमुखमा आफ्नो उपस्थिति जनाउन सकेन ।
कांग्रेसले रुपन्देही, दाङ, बाँके, गुल्मी, प्युठान र बर्दियामा जिसस प्रमुख जितेको छ । त्यस्तै दाङ, बाँके र बर्दियामा उपप्रमुख जितेको छ । एमालेले पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी र कपिलवस्तुमा प्रमुख जितेको छ भने पाल्पा र अर्घाखाँचीमा उपप्रमुख जितेको छ ।
माओवादी केन्द्रले रोल्पा र रुकुम पूर्वमा प्रमुख जितेको छ । त्यस्तै रोल्पा, गुल्मी, प्युठान र नवलपरासी पश्चिममा उपप्रमुख जितेको छ । रुकुम पूर्वमा नेकपा (एकीकृत समाजवादी)ले उपप्रमुख जितेको छ ।
रुपन्देहीमा कांग्रेस, माओवादी र लोसपा गठबन्धनबाट प्रमुखमा कांग्रेसका उमाकान्त चापागाईं र उपप्रमुखमा लोसपाका रामकृपाल धोबी निर्वाचित भएका छन् । दाङको जिसस प्रमुखमा कांग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भए । कपिलवस्तुको जिसस प्रमुखमा एमालेका बाबुराम आचार्य र उपप्रमुखमा लोसपाका रमेश कुर्मी निर्वाचित भए । यहाँ गोलाप्रथाबाट एमाले विजयी भएको हो ।
त्यस्तै बाँकेको जिसस प्रमुख र उपप्रमुख काँग्रेसका क्रमशः ज्ञानेन्द्रकुमार चौधरी र उपप्रमुख सीता कार्की निर्वाचित भए । गुल्मीको जिससमा काँग्रेस र माओवादीको गठबन्धनबाट प्रमुखमा कांग्रेसका द्रोणबहादुर खत्री र उपप्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र समाली मगर निर्वाचित भए ।
अर्घाखाँचीको जिसस प्रमुख र उपप्रमुखसहित प्यानलै एमालेले जितेको छ । प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएका छन् । जिसस प्यूठानको प्रमुखमा कांग्रेसका धर्मबहादुर जीसी र उपप्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध भएका छन् । पाँचदलीय गठबन्धन भएपछि एमालेले प्यूठानमा उम्मेदवारी नै दिएको थिएन । जिसस बर्दियाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा सूर्यबहादुर विष्ट र उपप्रमुखमा अमिता कुमारी यादव निर्वाचित भएका छन् ।
नवलपरासी जिसस प्रमुखमा एमालेका रुदल यादव र उपप्रमुखमा माओवादी केन्द्रका रामदयाल चौधरी निर्वाचित भएका छन् । यहांँ कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो । पाल्पा जिसस प्रमुखमा एमालेका टंकनाथ खनाल र उपप्रमुखमा एमालेकै काशिका गैरे ज्ञवाली निर्वाचित भएका छन् । रोल्पा जिसस प्रमुखमा माओवादीकी सीता आचार्य र उपप्रमुखमा माओवादीकै कर्मलाल परियार निर्वाचित भए । जिसस पूर्व रुकुमको प्रमुखमा माओवादीका मेघबहादुर श्रेष्ठ र उपप्रमुखका माओवादीकै मोहनबहादुर केसी निर्वाचित भए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij