बुटवल, १४ असार ।
लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको आयोजानमा बुटवलमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर परीक्षण क्लिनिक उद्घाटन गरिएको छ । सोही अवसरमा क्लबको सचिवालय भवन समेत उद्घाटन गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरी ३२५ पी का डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, ड्रिष्टिक सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानांङ्ग र क्लबका अध्यक्षद्वय कमलराज उदय र कुसुमदेवी शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।
बुटवल–७ यातायात (लाईसेन्स) कार्यालय भएको भवनमा उद्घाटन गरिएको क्लिनिकबाट अब सर्वसाधारणले आफ्नो शंका लागेको पाठेघरको क्यान्सर वा स्तन क्यान्सरको निःशुल्क परिक्षण गर्ने पाउने छन् । कार्यक्रममा डिष्ट्रिक सचिव सन्दीप कसौधन, कार्यक्रम संयोजकद्वय मुकेशमान श्रेष्ठ र सरिता कसजु लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
सचिवालय भवन निर्माणको लागि लायन्स क्लब तिलोत्तमाको ३६ लाख १८ हजार तिलोत्तमा मायादेवीबाट १७ लाख ५० हजार, लायन्स तिलोत्तमाका सदस्यहरुबाट ५ लाख ३० हजार र लायन्स मायादेवीका सदस्यहरुबाट ५ लाख ७० हजार रुपैयाँ सहयोगमा संकलन गरिएको थियो । अन्य सहयोगी दाताहरुबाट ११ लाख ४७ हजार गरी कुल ७६ लाख १४ हजार लागतमा भवन निर्माण गरिएको जनाइएको छ ।