२०८३, कार्तिक ८ गते

Oct 25 2026 | २०८३, कार्तिक ८ गते

मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास

आइतवार , कार्तिक ८, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • जनकपुर, ८ कार्तिक । जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । 

    यसै अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) भित्र्याइएको छ । विगत १४२ वर्षदेखि अविच्छिन्न रूपमा चलिआएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो।महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ । सोही ऐतिहासिक परम्परा अनुसार आज जानकी मन्दिर परिसर पु¥याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान श्रीराम र माता जानकीका लागि विशेष वस्त्रहरू समावेश गरिएका छन् ।

    सोही पाहुर समर्पण गरी मन्दिरमा शास्त्रीय विधिद्वारा सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो । ठाकुर परिवारका सदस्य नवीन ठाकुरले विगत १४२ वर्षदेखि शुरु भएको यो विशिष्ट पारिवारिक तथा सांस्कृतिक धरोहरलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार पूर्खादेखि हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले समेत गौरवका साथ निरन्तरता दिइरहेको छ । 

    कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहास (ठट्टा र मनोरञ्जनात्मक) कार्यक्रम आयोजना गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको उल्लास बढाउन परम्परागत हास्यव्यङ्ग्य र सांस्कृतिक गायनको प्रवन्ध मिलाइने जानकारी दिनुभयो । यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा छुट्टै उमङ्ग ल्याउने गरेको उहाँको भनाइ छ । 

    धार्मिक अनुष्ठानका अतिरिक्त कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीहरूका निम्ति पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ । यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने गरिन्छ । ससुरालीबाट आएको पाहुरका सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले विशेष मन्त्रोच्चारणका साथ बेहुलाको चुमाओन गरी ‘दुरवाक्षत’ (दूबो र अक्षतासहितको आशीर्वाद) दिने चलन छ । अनुष्ठान सम्पन्न भएपछि परिवार र आफन्तजनलाई भव्य भोज खुवाउने तथा गाउँभरि पान र मखान वितरण गरी एकापसमा खुशी साटासाट गर्ने मौलिक परम्परा मिथिलाञ्चलमा रहेको छ ।