
बुधवार , आषाढ १५, २०७९
भैरहवा, १५ असार ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले स्वागत तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई मंगलबार स्वागत गरिएको अखिल (क्रान्तिकारी) मूल इकाई समितिका सचिव बिनोद घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नारायण खनालले संगठनले विद्यार्थीहरुका हकहितका लागि निरन्तर काम गर्दै आइरहेको बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र) रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज उमेश खनालले मुलुकमा भएका विभिन्न आन्दोलनमा अखिल (क्रान्तिकारी)ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा अखिल क्रान्तिकारी रुपन्देहीका जिल्ला अध्यक्ष कपिल चापागाई, भैरहवा बहुमुखी क्याम्पस मूल इकाई कमिटीका अध्यक्ष मनिष ढकाल लगायतले बोलेका थिए ।
मनिष ढकालको अध्यक्षता, दर्शना अधिकारीको स्वागत, मोहम्मद अमरको धन्यवाद ज्ञापन तथा बिनोद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थी विमल गौत्तम र क्याम्पस प्रमुख अनिल कुमार झालाई क्याम्पसमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij