सोमवार , आषाढ २७, २०७९
तिलोत्तमा, २७ असार ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ३ कम्हरियास्थित कम्हरिया स्वास्थ्य चौकीले ‘एक गाउँ एक स्वास्थ्यकर्मी’ कार्यक्रम लागू गरेको छ । एक कार्यक्रमकाबीच स्वास्थ्य चौकीले एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले यसबाट ग्रामीण क्षेत्रका नागरिकले गाउँमै सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मोहम्मद रफिक खानको अध्यक्षतामा भएको कार्यक्रममा कम्हरिया स्वास्थ्य संस्थाका प्रमुख प्रदिपकुमार पण्डित, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मायादेवी वडा नम्बर ३ अन्तर्गतका सम्पूर्ण टोलबासीहरुमा एक गाउँमा एक स्वास्थ्यकर्मीद्वारा परामर्श, भेटघाट र स्वास्थ्य समस्याको बारेमा सुझबुझ गरी जानकारी पाउने र समस्याको समाधानका उपाय पत्ता लगाउने तथा स्वास्थ्यका सूचकहरुलाई पूरा गरी वडा नम्बर ३ लाई स्वास्थ्य क्षेत्रमा अब्बल घोषणा गर्ने निर्णय समेत गरिएको छ ।
उक्त स्वास्थ्यचौकीमा नम्रता चौधरी, प्रदिप कुमार पण्डित, भोजराज पोख्रेल, सिता आचार्य, कमला पन्त, रामवरण गुप्ता, जितेन्द्र गुप्ता, कमला गिरी, मनिषा बरुवाल, शोभा प्रधान, इन्द्रावती यादव, अवधेश यादव, जमुना सुवेदी, मायादेवी थारु लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij