२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य र शिक्षाका कार्यक्रम सञ्चालन गर्छौं : मुख्यमन्त्री केसी

सोमवार , आषाढ २७, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, २७ असार ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताएका छन् । बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए । 

    मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्ने तयारी गरेको बताए । ‘गाउँ टोलसम्म पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम हामीले बुटवल उपमहानगरपालिकाबाटै सुरु गर्ने तयारी गरेका छौं’–उनले भने, ‘यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुन मोडलमा सञ्चालन गर्ने टुंगो लगाउँछौं ।’ 

    कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी समयमा हुन सक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले बोलेका थिए ।