
बिहिवार , आषाढ ३०, २०७९
भैरहवा, ३० असार ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीले असार २९ गतेलाई नेपाली भाषा दिवसको रुपमा घोषणा गर्न माग गरेको छ । परिवारले राष्ट्र«व्यापी रुपमा विविधि कार्यक्रम गरी भानुभक्त जस्ता भाषा साहित्यका मूर्धन्य व्यक्तिहरुको खुलेर प्रशंसा गर्नुपर्ने र अहिलेको युवा पिँढीलाई भाषा साहित्यको जर्गेनामा आकर्षित गर्नुपर्ने माग गरेको छ ।
बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै परिवारले नेपाली साहित्यकारलाई विश्व जगतमा फैलाउन महत्वपूर्ण भूमिका खेल्ने भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम गर्नुपर्ने माग गरेको हो ।
‘छिमेकी राष्ट्र भारतको दार्जलिङ, सिक्किम, कलकत्ता, उत्तराखण्ड राज्य र पूर्वोतर राज्य लगायत दर्जनौं ठाउँमा भानुभक्तको जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम गरी मनाउने प्रचलन छ । त्यहाँ उक्त दिन सार्वजनिक विदा नै गरी भव्य रुपमा उनको साहित्यप्रतिको योगदानको उच्च प्रशंसा गरिन्छ । भारत सरकार र त्यहाँ नागरिकले नेपाली साहित्यकारलाई त्यसप्रकारले सम्मान गर्नु हामी नेपालीका लागि गौरवको विषय हो, तर आफ्नै जन्मभूमिमा उनको खुलेर प्रशंसा र सम्मान हुन नसक्दा अत्यन्त पीडा महसुस भइरहेको छ, ’परिवारका अध्यक्ष उदय कुमार मल्लिकले भने ।
यस दिनमा विभिन्न साहित्यिक संस्थाहरुले साहित्यिक कार्यक्रम गरी उनको जन्मजयन्ती मनाउने गरेको परिवारकी सचिव सृजना पाठकले बताइन् । उनले भनिन्, ‘साथै सामूहिक विद्यालय परिवार रुपन्देहीले पनि २०७२ सालदेखि साहित्यकारहरुलाई सम्मान गर्दै भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्ने काम निरन्तर भइरहेको छ, के सामान्य औपचारिक कार्यक्रमले मात्र उनको योगदानको कदर हुन्छ त ?’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij