
मंगलवार , श्रावण १०, २०७९
भैरहवा, १० साउन ।
करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई अनाहकमा बिना निर्णय र सूचना हटाइएको भन्दै लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुखसहित ६ जना वडाअध्यक्षहरुले ज्ञापनपत्र बुझाएका छन् । कुनै प्रक्रिया नै पुरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुर्नविचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका छन् ।
उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का वडाअध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्रीवास्तव, ७ का अध्यक्ष ध्रुप यादव, १० का अध्यक्ष विनोद कहाँर र १२ का अध्यक्ष हरिकेश लोधले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
नगरपालिकामा कार्यरत इमान्दार, निष्ठावान र मिहिनेती कर्मचारीलाई हटाएर अत्यन्तै अपारदर्शी तथा अलोकतान्त्रिक तवरबाट निर्णयहरु भइरहेको नगर उपप्रमुख हरिजनले बताइन् ।
‘नगर परिषद र नगर सभाको नाउमा वार्षिक नियमित बजेटसम्म मात्र छलफल भइ पारित भएको र अन्य कुनै पनि एजेण्डाहरु टेबुल नै नगरी र छलफलमा नल्याइ आफ्ना पार्टी नेता कार्यकर्ताको आग्रहमा प्रमुख प्रशासकीय अधिकृतको मिलेमत्तोमा नयाँ कर्मचारी नियुक्त गरिएकाले यस्ता कार्यहरुको नेकपा (एमाले), लोसपा नेपाल र जनमत पार्टीबाट निर्वाचित उपप्रमुख, वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु घोर भत्र्सना गर्दछौं, ’ज्ञापनपत्रमा उल्लेख छ ।
‘नगरप्रमुख लगायत नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु तथा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालका जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतको हैसियतले गरेका यस्ता कार्यहरुको तुरुन्त पुर्नविचार गर्नुपर्छ, ’ज्ञापनपत्रमा भनिएको छ ।
कर्मचारी हटाउने र नयाँ कर्मचारी नियुक्त गर्ने कार्यको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्थामा तालाबन्दी समेत गर्न पछि नपर्ने उनीहरुले चेतावनी दिएका छन् ।
१३ वटा वडा रहेको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, कांग्रेस, जसपाले ३/३, तथा लोसपा र जनमत पार्टीले १/१ वडा जितेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij