२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

गठबन्धन  

सोमवार , श्रावण २३, २०७९

हात्ती सधै आफ्नो गन्तव्यमा पुग्न निरन्तर लमकलमक लम्किरहने क्रममा बाटोका कुकुरहरु पनि निरन्तर भ्याउभ्याउ भुकिरहेको थियो । नटोक्ने त्यी कुकुर, कायर कुकुरहरुले जति भुके पनि हात्तीको नजिक पुग्ने आँट भने कसैले गरेको थिएन ।

कुकुरहरु भुक्दै थिए हात्ती लम्किरहेकै थियो । सबैले हात्तीलाई ढोग गरेको, हात्ती गन्तव्य तिर लम्किरहेको, दृष्टिबिहीनले पनि हात्तीलाई छामी छामी बयान गरेको र मानिसहरुले हात्तीलाई भगवानको प्रतीक मान्दै गएपछि ईष्र्यालू जन्तुहरुलाई बसि खानु भएन । अब यो हात्तीलाई ठीक पार्नुपर्छ, यसलाई गन्तव्यमा पुग्नदिनु हुँदै हुँदैन यसलाई यत्तिकै छाड्यो भने हिडेरै स्वर्ग पुग्न सक्छ तसर्थ सबै जन्तु मिलेर खतम पारौ । कुचोले बढारेझै बढार्नु पर्छ भन्दै कुकुर, बाँदर, स्याल,किरा फट्यांग्रा, कमिला जन्तुहरु भेला भए । भेलामा ल अबत्यो हात्ती यसपाली पनि यही बाटो भएर आउँछ यसलाई हामी सबै मिलेर रोक्नुपर्छ भनेर कुकुरले भन्न नभ्याउँदै स्यालले सहमति जनाउँदै गोजीबाट तयारी गरेर ल्याएको जुक्ति सुनायो– हामी सबै सकि नसकी भएपनि रुखमा चढ्ने । बाँदर भाईत्यो हात्ती आउने बित्तिकै तिमीले जोडसँग रुखको हांगाहरु हल्लाउने र किरा फटयांग्रोहरु सबै रुखको पातहरुमा बस्ने । कुकुरहरुले चारैतिरबाट घेराबन्दी गर्ने, कमिलाहरु पनि सबै रुखको बोक्राहरुमा लुकेर बस्ने ।

जब हात्ती रुखमुनी आइपुग्छ बाँदरले रुख हल्लाउने । रुख हल्लिदा पात र डाठमा रहेका सारा किरा फटयांग्राहरु हात्तीको शरीर नै ढाक्ने गरी ढाक्ने । कमिलाहरु तिमीहरुले टोकी टोकी मार्ने कुकुरहरुले टोकेर रेबिज नै सार्ने हामीपनि रेबिज सार्दिन्छौ । हामीले रोक्न नसके पनि बरु बौलाहाएरै मरोस् । सबैले स्यालको प्रस्ताव समर्थन गरेर ताली पड्काए । दिनबित्दै गयो । हात्ती आउला भन्दै पर्खिएका योजनाकारहरु अर्थात गठबन्धन भएका सबै पूर्व बाडफाड गरेको कार्य सम्हालेर बसे । एक दिन नभन्दै त्यही बाटो लमकलमक लम्कदै हात्ती आयो ।सबै सावधान भएर आ–आफ्नो जिम्मेवारी सम्हाले । जब रुख नजिक हात्ती आइपुग्यो बाँदरहरुले रुख हल्लायो । हात्तीको सुड नजिकै रुखको डाली हल्लिएकोले सहजै ह्वाम्म ! पारी दियो । त्यही डालीमा फटयांग्रो थियो उ उफ्रिएर हात्तीको आङ्ममा चढ्यो ।माथिबाट कमिलाहरुको आदेश आयो । – थिच ! थिच !! हामी आउँदैछौ । हात्ती लमकलमक अगाडि लम्कियो । बाँदरहरु रुख हल्लाउँदै बसिरहे, स्यालहरु रुदै उई ! उई !! गरी रहे ,कुकुरहरु एकनासले भुकि रहे ।