शुक्रवार , बैशाख २५, २०८३
बुटवल, २५ वैशाख । नेपालमा पछिल्लो समय यात्रुबाहक बस तथा सार्वजनिक यातायात व्यवसायले धेरै मात्रामा आर्थिक र नीतिगत चुनौतीहरू सामना गरिरहेको सरोकारवालाहरुले बताएका छन् ।
यातायात क्षेत्रमा ठूलो लगानी, व्यवसायिक जोखिम र कम आम्दानी, अस्वस्थ प्रतिष्पर्धा, असुरक्षा र अव्यवहारिक सरकारी नीतिका कारण विशेष गरी बस व्यवसायी, यातायात समिति तथा मजदूहरू संकटउन्मुख भएको बताएका छन् ।
लगातार इन्धनको मुल्यवृद्धि भइरहने तर, भाडावृद्धि नहुनु अर्को चुनौती रहेको उल्लेख गर्दै व्यवसाय र रोजगारी दुवै धरासायीको संघारमा पुगेको उनीहरुको भनाइ छ । बुटवल यातायात प्रा.लि.को रुपान्तरणपछिको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनका सहभागीहरुले यात्रुबाहक सवारीको सञ्चालन लागत उच्च गतिमा बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नीतिगत अस्थिरता र राजनैतिक हस्तक्षेपका कारण यातायात व्यवसायीहरु सधै त्रसित मुद्रामा व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनीहरुले व्यवस्थित सार्वजनिक यातायात प्रणालीको विकास गर्न सरकार समक्ष माग गरेका छन् ।
कार्यक्रममा बुटवल यातायात प्रा.लि.का पूर्वअध्यक्ष डिलबहादुर थापाले नेपालको सार्वजनिक यातायात व्यवसाय अहिले ‘पुरानो सञ्चालन मोडल’ र ‘नयाँ प्रविधि तथा यात्रु व्यवहार’ बीचको संक्रमणकालमा रहेको बताउनुभयो ।
सार्वजनिक यातायात क्षेत्र सुधारका लागि : वैज्ञानिक रुट व्यवस्थापन, डिजिटल प्रणाली, श्रमिक सुरक्षा, आधुनिक बस सेवा, सरकार र व्यवसायीबीच समन्वय र स्पष्ट नीति अत्यावश्यक रहेको उहाँको भनाइ छ ।
प्रा.लि.का अध्यक्ष रबिन्द्रमान श्रेष्ठले व्यवसायिक हकहित संरक्षण र एकताका लागि संस्थागत विकासका साथै यातायात व्यवसायी र मजदूरबीच समन्वय र सहकार्य पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभयो । यातायात क्षेत्रको बिकास बिना समग्र देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थापक सदस्य तथा संस्थाको बिकासमा योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रा.लि.का संस्थापक उपाध्यक्ष लक्ष्मण आचार्य, उपाध्यक्ष अशोक कुमार श्रेष्ठ, प्रबन्ध सञ्चालक दीपक श्रेष्ठ, लेखापरीक्षक मधु खनाल लगायतले खस्किदै गइरहेको यातायात व्यवसाय क्षेत्रको संरक्षण, विकास र उन्नतिका लागि सम्पूर्ण व्यवसायीहरु एकताबद्ध भइ गम्भिर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक यात्रुबाहक सवारी सञ्चालनका समस्याहरु र समाधानका उपायहरुबारे चर्चा गरेका थिए । प्रा.लि.मा हाल करिब ४ सय यात्रुबाहक सवारीसाधनहरु आवद्ध छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij