
मंगलवार , श्रावण २४, २०७९
बुटवल, २४ साउन ।
स्थानीय तह निर्वाचनमा विजयी भएका महिला जनप्रतिनिधिहरुलाई बुटवलमा सम्मान गरिएको छ । अखिल नेपाल महिला संघ रुपन्देहीले विशेष समारोहको आयोजना गरी नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको हो ।
विजयी जनप्रतिनिधिलाई थप हौसला र प्रेरणा दिदै जनमैत्री काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुंवरले बताइन् । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा एमालेका तर्फबाट १ सय १४ जना महिलाले जितेका थिए । त्यसमा ६ उपप्रमुख, २ गाउँपालिका उपाध्यक्ष र एक वडाअध्यक्ष छन् । यसबाहेक जिल्लाका १६ स्थानीय तहमा १ सय ५ महिलाले वडा सदस्यमा निर्वाचनमा जितेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लीला गिरीले सम्मान र बधाईले जनप्रतिनिधिलाई काम गर्न थप हौसला र जिम्मेवारीबोध हुने बताए । उनले अनेमसंघले महिला नेता उत्पादन गर्न गरेको कामको प्रशंसा गर्दै यहाँबाट प्रशिक्षित भएर जनप्रतिनिधि बनेले पनि त्यसैअनुसार आफ्नो म्याण्डेट सम्झेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पार्टी र जनताको अपेक्षा पूरा हुने गरी जनप्रतिनिधिले कसरी काम गर्ने भन्नेबारेमा प्रष्ट पारिन् । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, अनेमसंघ रुपन्देही उपाध्यक्ष विष्णु केसी, अर्का उपाध्यक्ष सीता खनाल, सचिव दुर्गा पाठक पाण्डे लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij