२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

नागरिकता विधेयक फिर्ता भएको विरोधमा जसपाद्वारा भैरहवामा प्रदर्शन

मंगलवार , श्रावण ३१, २०७९

भैरहवा, ३१ साउन ।
प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट बहुमतले पारित नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको विरोधमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) भैरहवामा प्रदर्शन गरेको छ । पार्टीले भैरहवास्थित मिलनचोकमा मंगलबार प्रदर्शन तथा विरोध सभा गरेको जसपा निकट समाजवादी युवा संघ, नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष विकास यादवले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनु दुःखद भएको बताए । उनले जनताले राजनीतिक दल चिन्ने बेला आएको बताए । नेता यादवले भने, ‘उत्पीडित जनताको अधिकारको लागि लड्ने पार्टी जसपा नै हो ।’

पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश यादवले राष्ट्रपति तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने माग गरे । उनले राष्ट्रपति सिंगो मुलुकको कि एउटा पार्टीको भन्दै प्रश्न गरे ।

पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिलाउन सरकार अगाडि बढेको बेला राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको बताए । उनले मधेशी जनताले सीमाको रक्षा गरिरहेको बताए ।

पार्टीका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने, जन्मसिद्व नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन्, उहाँहरुलाई नागरिकता दिनुपर्छ ।

नागरिक अगुवा आनन्द प्रसाद गुप्ताले नागरिकता नभएकै कारण लाखौं नागरिक विभिन्न अवसरबाट वञ्चित भएको बताए । उनले राष्ट्रपतिको कदम गलत भएको आरोप लगाए । जसपाका नेता शतिषचन्द्र मिश्राले नागरिकताबाट वञ्चित जनतालाई नागरिकता दिनुपर्ने बताए । उक्त कार्यक्रममा राष्ट्रपतिको पुत्ला दहन समेत गरिएको थियो ।

IMG_8541.JPG