२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

उद्योगी केशव खड्का रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने

शुक्रवार , भाद्र ३, २०७९

भैरहवा, ३ भदौ ।

उद्योगी केशव विक्रम खड्काले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले देशलाई गरीब बनाउने र युवा शक्तिलाई बाहिर पठाउने षडयन्त्र भइरहेकाले त्यसका विरुद्ध उम्मेदवारी दिन लागेको बताए । उनले निर्वाचनको प्रचारप्रसार पराम्परागत ढंगले नभइ आफूले नयाँ ढंगले गर्ने बताए । उनले भने, ‘निर्वाचनको खर्च पाँच लाख तोकेको छु, त्यो भन्दा एक रुपैयाँ बढी पनि खर्च गर्दिन, मदिरा र मासु खुवाउँदिन, भोट किन्दैन । ’कसैलाई खुलाउनु भन्दा बरु पैसा गरीबलाई पढाउनका निम्ति खर्च गर्ने उनले बताए । उनले बाँकी जीवन देशकै लागि समर्पित गर्ने बताए । राजनीतिक दलहरु ज्नताप्रति जिम्मेवार नभएको उनको भनाइ छ ।

दाउन्ने फिड्सका सञ्चालक खड्काले देशको अवस्थाका कारण बाध्यात्मक परिस्थितिमा आफू चुनावमा उम्मेदवार बन्न लागेको बताए । उनले भने, ‘देशप्रति निष्ठा छ, त्यसकारण मैले निर्वाचन जित्नुपर्छ । अरु राजनीतिक दल जस्तै आफूसँग कार्यकर्ता नरहेको उनको भनाइ छ । खड्काले भने, ‘म मुलुकप्रति संवेदनशील छु, देशलाई सिस्टममा लैजान मसँग साहस र भिजन छ ।’ सांसदले यतिसम्म पनि गर्न सक्छन् भन्ने कुरा आफूले देखाउन चाहेको खड्काले बताए ।

आध्यात्मिक नाम तथागत स्वामीको नामले परिचित भैरहवा निवासी खड्काले विज्ञान विषयमा स्नातक गरेका छन् । उनी प्राकृतिक चिकित्सक तथा पशुपंक्षीहरुको पोषणविशेषज्ञ समेत हुन् ।