
बिहिवार , भाद्र १६, २०७९
भैरहवा, १६ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटी, रुपन्देहीले निर्वाचन आयोगले जारी गरेको मतदाता नामावली विवरणमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाताको नामावली दोहोरिएको पाइएकाले त्यस्ता दोहारिएको नाम हटाउन माग गरेको छ । नमूना अध्ययनले बुटवलमा ८०२, तिलोत्तमामा २९०, सैनामैनामा ३३८ र देवदहमा ९२ जनाको मतदाता नामावली दोहारिएको र यो संख्या भन्दा कयौं गुणा बढी अन्तरपालिका र अन्तरजिल्लामा नामावली दोहारिएकाले त्यसलाई हटाउन माग गर्दै एमाले बुटवल उपमहानगरपालिका कमिटीले बिहीबार निर्वाचन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ ।
एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले निर्वाचनको आधारश्रोत नै त्रुटीपूर्ण भएपछि निष्पक्ष निर्वाचन सम्भव नहुने र यस्तो प्रवृत्तिले लोकतन्त्रको चिरहरण हुने निश्चित रहेको बताए । उनले दोहोरिएका नाम हटाउन र अन्य पालिका र अन्तरपालिकामा रहेका दोहारिएका नाम पहिचान गरी हटाउन निर्वाचन आयोगलाई आग्रह गरे ।
उनले भने, ‘निधन भएका नागरिकको नाम समेत मतदाता नामावलीबाट हटेको छैन र यस्ता व्यक्तिहरुको नाममा अरुले मतदान गरेको समेत भेटिएकाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाइ त्यस्ता मतदाता नामावली समेत हटाउन समेत अनुरोध गर्दछौं, हाम्रो नमूना अध्ययनका आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्ष भन्दा माथिका व्यक्तिहरुको संख्या ४८५ भन्दा बढी रहेको छ, त्यसका अतिरिक्त विभिन्न वडाहरुबाट प्राप्त सूचनाका आधारमा २८५ जना व्यक्तिहरु अहिले नभएको प्रस्तुत तथ्यले देखाउँछ । ’दोहोरिएका र मृत्यु भएका व्यक्तिहरुको नामावली विवरण ज्ञापनपत्रसँगै संलग्न गरी बुझाइएको कार्यदल संयोजक मेघनाथ भट्टराईले जानकारी दिए ।
ज्ञापनपत्र बुझेपश्चात बोल्दै जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले दोहोरिएका मतदाता नामावलीबारे जन्ममिति र मतदाता नम्बरसहित विवरण उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरे । उनले यसका लागि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘दोहोरिएका तथा मृत्यु भएका मतदाताहरुको नाम हटाउने क्रममा छौं ।’
त्यस्तै एमाले बुटवल उपमहानगर कमिटीले दोहोरिएका तथा मृत्यु भएका मतदाताको नामावली हटाउन माग गर्दै बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई समेत ज्ञापनपत्र बुझाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij