
शुक्रवार , भाद्र १७, २०७९
भैरहवा, १७ भदौ ।
जनमत पार्टी रुपन्देहीका पूर्व जिल्ला सचिव शिव चरण केवटसहित नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपा जिल्ला कार्यसमिति रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा जनमत पार्टी परित्याग गरी केवटसहित नेताहरु सुजित चौधरी, चन्द्र कुमार सिंह, किशुन बरई, निलु चौधरी, बिशम्भर केवट, करधवन थारु लगायत राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापा, लुम्बिनी प्रदेश संयोजक प्रदीप कुमार उदय केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, तोयानाथ लम्साल, केन्द्रीय सुशासन विभागका सदस्य शिवहरि शर्मा लगायतले पार्टीमा स्वागत गरेका हुन् । जनमत पार्टीका पूर्व जिल्ला सचिव केवट गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका थिए ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले अन्य पार्टी भन्दा राप्रपा फरक रहेको बताए । उनले अहिले एउटा नेताले अर्को नेतालाई गाली गर्ने काम मात्र भइरहेको बताए । उनले भने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको विचार लोकप्रिय छ, हिन्दू राष्ट्रको एजेण्डा बोक्ने पार्टीलाई निर्वाचनमा जिताउनुहास् । प्रलोभनमा पारेर मुलुकमा धर्म परिवर्तनको खेल भइरहेको उनको भनाइ थियो । उनले भने, ‘मुलुकमा राजा ल्याउनुपर्छ, हिन्दूराष्ट्रको आवश्यकता छ । ’पाँचदलीय गठबन्धनका कारण मुलुकको राष्ट्रियता संकटमा परेको उनले आरोप लगाए । नेता थापाले सत्तामा बसेका नेताहरुले नै गठबन्धन गर्नु आश्चर्यजनक भएको बताए ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले जनमत पार्टीबाट नेताहरु राप्रपामा प्रवेश गर्नुले राप्रपाको नीति, सिद्वान्तलाई थप बल पुगेको बताए । उनले मुलुक कठिन परिस्थितिमा भएकाले मुलुक राजा बिना अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भएको बताए । नेता उदयले भने, ‘२०६२÷६३ को आन्दोलनमा धर्मनिरपेक्षताको कुरा उठेको थिएन, तर विदेशी इसारामा मुलुकमा धर्मनिरपेक्षता लादियो, धर्म निरपेक्षताको नाममा धर्म परिवर्तन भइरहेको छ । ’उनले गठबन्धनका कारण मुलकको राष्ट्रियता खतरामा परेको बताए ।
राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले राप्रपा जनताको पक्षमा काम गर्ने र सबैलाई समेट्ने पार्टी भएको दावी गरे । उनले आगामी निर्वाचनमा राप्रपालाई जिताउनुपर्नेमा जोड दिए । उनले भने, ‘रुपन्देहीले दीपक बोहरा, निरञ्जन थापा जस्तो अभिभावक पाएको छ ।’
नवप्रवेशी शिव चरण केवटले आफू विगत १० वर्षदेखि जनमत पार्टीमा आबद्ध भएको र पार्टीमा मुल्यांकन नभएकाले बाध्य भएर पार्टी परित्याग गरेको बताए । उनले भने, ‘जनमत पार्टीको ठोस नीति, एजेण्डा छ्रैन । ’राप्रपाको एजेण्डा र सिद्वान्त मन परेर पार्टीमा प्रवेश गरेको बताए ।
राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले जनमत पार्टीका नेताहरुको आगमनले राप्रपालाई थप बलियो बनाउने बताए ।
राप्रपा रुपन्देहीकी उपाध्यक्ष पदमा थापाको अध्यक्षता, वरिष्ठ नेता दीपक बोहराको प्रमुख आतिथ्यता, सचिव बलराम शर्माको स्वागत तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij