२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘मानवअधिकारको संरक्षणका लागि हिंसाविरुद्ध बोल्ने संस्कृतिको विकास गरौं’

बिहिवार , मंसिर १८, २०७७

बुटवल, १८ मंसिर ।

मानव अधिकारको संरक्षणका लागि अधिकार हनन र  हिंसाविरुद्ध बोल्ने संस्कृतिको विकास गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । हिंसा सहेर बस्ने परिपाटीले पीडकको मनोबल बढ्ने र हिंसाका घटना बढ्दै जाने भएकाले हिंसाविरुद्ध मौनताको संस्कृति तोड्न उनीहरुले आग्रह गरे । व्यवस्था फेरिए पनि मानव अधिकारको अवस्था परिवर्तन नभएकाले यसविरुद्ध सबै अधिकारकर्मीहरुले वकालत र पैरवी गर्नुपर्ने सहभागीहरुले बताए ।

युके एडको आर्थिक सहयोगमा भिएसओ, इन्टरनेशनल अलर्ट र मधेश मानव अधिकार गृह कपिलवस्तुद्धारा संचालित सहज परियोजनाले बिहीबार बुटवलमा आयोजना गरेको मानवअधिकारको अवस्था विषयक अन्तरक्रियात्मक बैठकमा सहभागीले यस्तो बताएका हुन् ।

अझै पनि लैंगिकतामा आधारित घटना र मानवअधिकार हननका घटनाको प्रहरीमा जाहेरी नलिने, प्रहरीबाट अदालतमा गएका घटनामा पनि अभियोजन र अनुसन्धानमा समस्या हुने गरेको सहभागीले गुनासो गरे । माहुरी होमका अध्यक्ष रविनाथ ठाकुरले सर्वसाधारणलाई मानवअधिकारको अनुभूति दिलाउन सेवा प्रदायक निकायलाई नागरिकमैत्री र जवाफदेयी बनाउनुपर्ने बताए । नेतृत्व तहमा रहेका व्यक्तिलाई जवाफदेयी बनाउन निरन्तर खबरदारी गर्न सके मानवअधिकार संरक्षणमा सहयोग पुग्ने उनले बताए ।

मानवअधिकार आयोगका दिपक ठाकुरले सर्वसाधारणलाई न्याय दिलाउन कानुनी चेतना र अधिकारका बारेमा सिकाउनुपर्ने बताए । गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले लैंगिकताको सवाल महिलाको मात्र नभइ हाम्रो हो भन्ने साझा बुझाइ भए मात्र पीडितलाई सहज न्याय दिलाउन सकिने बताइन् । 

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले कोभिड–१९ को संक्रमणका बेला सरकारी पक्ष जिम्मेवारीबाट पन्छिदा अझ बढी हिंसा र मानवअधिकार हननका घटना भएको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले कोभिडको समयमा सबैभन्दा बढी यौन हिंसा र घरेलु हिंसाका उजुरी आएको बताए । उनले कुनै पनि मानवअधिकार हनन र लैंगिक हिंसाविरुद्धका घटनालाई प्रहरीले बेवास्था नगरेको बताए । कुनै घटना विशेषमा कमजोरी भएको भए खेलेर सुझाव दिन उनले आग्रह गरे । 
कार्यक्रममा माहुरी होमको सहज परियोजना संयोजक विना चौधरीले कोभिड संक्रमणका समयमा भएका लैंगिक हिंसा तथा मानवअधिकार हननका घटनाबारे प्रस्तुती गरेकी थिइन् ।

क्कार्यक्रममा मानवअधिकार एलाएन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, थर्ड एलायन्सका अग्नीशक्ति यादव, अपांगता समाजकी सावित्रा घिमिरे, दलित महिला संघकी सावि विक, माहुरी होमका बसन्त बन्जाडे, राम विकास चौधरी लगायतले मानव अधिकार संरक्षणका लागि अब गर्नुपर्ने कार्यबारे बताएका थिए ।