
सोमवार , श्रावण १२, २०७७
परासी, १२ साउन ।
सशस्त्र प्रहरीले शनिबार राती १७ लाख मुल्य बराबरको ८५ वटा अवैध खसी बरामद गरेको छ । स्थानीय तस्करहरुले रातीको समयमा भारतबाट सुस्ता ५ बलीनगर अवैध बाटो प्रयोग गरी नेपाल भित्राउन खोजेको ८५ वटा खसीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।
खसी नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र तस्करहरुबीच सामान्य विवाद समेत भएको थियो । १७ लाख मुल्य बराबरको बरामद उक्त खसी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए ।
त्यस्तै नेपाल प्रहरीले पनि शनिवार विभिन्न नाकाबाट १ लाख २१ हजार मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न नाकाबाट हार्डयवरका सामान र ३७ बोरा केराउ बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसरी जिल्लामा शनिबार मात्र १८ लाख २१ हजारको मालसमान बरामद भएको छ । सीमामा भइरहेको चोरी तस्करी रोक्न सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij