२०८३, आश्विन २८ गते

Oct 14 2026 | २०८३, आश्विन २८ गते

अटो इन्जिनियरिङ पेशाको सम्मान बढाउनुपर्नेमा जोड, एशोसिएसनको परिषद् बैठक सम्पन्न

बुधवार , आश्विन २८, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • बुटवल, २८ असोज । अटो इन्जिनियरिङ पेशामा आबद्ध जनशक्तिको सीप, दक्षता र योगदानको उचित कदर गर्दै समाजमा यस पेशाको सम्मान बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    बुटवल अटो इन्जिनियरिङ एशोसिएसनको परिषद् बैठक तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले अटो इन्जिनियरिङ क्षेत्रको विकाससँगै यसमा आबद्ध जनशक्तिको सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष एवं संरक्षक सल्लाहकार खड्गबहादुर गौतमले संस्थाको उद्देश्य प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    संस्थाका पूर्वअध्यक्ष तथा संरक्षक सल्लाहकार भोजबहादुर बुढाथोकीले संस्थागत एकता र सहकार्यलाई बलियो बनाउँदै अटो इन्जिनियरिङ क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । अर्का पूर्वअध्यक्ष तथा संरक्षक सल्लाहकार प्रेमबहादुर फौदारले पेशागत हकहित र मर्यादाको संरक्षणमा संस्थाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    पूर्वअध्यक्ष तथा संरक्षक सल्लाहकार ज्योति भण्डारीले अटो इन्जिनियरिङ पेसालाई समाजमा स्थापित गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष तथा संस्थाका सल्लाहकार टंकप्रसाद पोखरेलले अटो इन्जिनियरिङ क्षेत्रको विकासका लागि व्यवसायिक क्षेत्र र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    संस्थाका सल्लाहकार पंकज राईले समाजमा अटो इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा अझै अपेक्षित परिवर्तन आउन नसकेको बताउनुभयो । प्राविधिक सल्लाहकार महेश्वर लम्साल, कानुनी सल्लाहकार दामोदर घिमिरे र प्रेस सल्लाहकार प्रदीप आचार्यलगायतले अटो क्षेत्रलाई अझ सम्मानित पेशाका रूपमा स्थापित गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका सभापतिमा निर्वाचित एसोसिएसनका पूर्वअध्यक्ष ज्योति भण्डारीलाई सम्मानसमेत गरिएको थियो।

    एशोसिएसनअन्तर्गत करिब ५ सय व्यवसायी र १० हजार व्यवसायी मजदूर आबद्ध छन् । अटो इन्जिनियरिङ क्षेत्रसँग ठूलो संख्यामा व्यवसायी र मजदूर जोडिएकाले यस क्षेत्रको व्यवसायिक मर्यादा, हकहित र सामाजिक प्रतिष्ठा अभिवृद्धिमा संस्थाले भूमिका खेल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

    परिषद् बैठकमा दशैं, तिहार, छठ तथा नेपाल संवत् लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । सहभागीहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र संस्थागत एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    एशोसिएसनका अध्यक्ष प्रेम गौचनको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष बाबुराम आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव पुनित पोखरेलले गर्नुभएको थियो ।

    सो अवसरमा महासचिव पुनित पोखरेल र कोषाध्यक्ष नवराज सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित भएको थियो।

    कार्यक्रममा संस्थाका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति सदस्य तथा सेक्टर संयोजकलगायतको सहभागीता रहेको थियो।