२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

लौरो अभियानद्वारा रुपन्देहीमा उम्मेदवारहरुको नाम घोषणा 

शुक्रवार , भाद्र ३१, २०७९

रुपन्देही, ३१ भदौ । 
रुपन्देहीमा  लौरो अभियानले स्वतन्त्र उम्मेदारहरुका रुपमा ४ वटा क्षेत्रमा उम्मेवाररी घोषणा गरेका छन् । प्रतिनिधिसभामा पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर १ मा विशाल बास्कोटा, २ मा डा. निकोलश भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् । 

त्यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ (ख) मा सञ्जय कुमार मिश्रा र ५ (क) मा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्र कुमार शर्मा र प्युठानमा रामचन्द्र केसी उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरुलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।  

शुक्रबार बुटवलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने पुष्टी भएको दावी गरे । 

घिमिरे प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्व सीईओ हुन् । पौने ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्कामा डेढ अर्ब रुपैयाँ कमिसन लिएर राज्यलाई नोक्सानी पार्न लागेको थाहा पाएर आफूले ‘दलालको दलाल बन्दिन’ भनेर पदबाट राजीनामा दिएर स्वतन्त्र अभियानमा होमिएको उनले बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारले जितेमा मुलुकलाई आर्थिक बोझ थोपर्ने संरचनाहरु घटाउने या अनावश्यक भए हटाउने बताए । ‘अहिले प्रदेश सरकारहरु, प्रदेशसभाहरु गठबन्धन दलका नेतालाई पद भागबण्डा गर्ने अनुत्पादक थलो बनेका छन्’–घिमिरेले भने –‘विदेशबाट ऋण लिएर तलब भत्ता खुवाउनुपर्ने यस्ता संरचनाहरुलाई पुनःसंरचना गर्ने वा जनताको राय लिएर हटाउने हाम्रो प्राथमिकता हुनेछ ।’ रवि लामिछाने र रमेश खरेलको पार्टीसंग चुनावमा एक भएर जान लौरो अभियानले निरन्तर वार्ता गरिरहेको उनले बताए ।

लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए  । काठमाडौंमा बालेन शाहले एक्लै जितेर स्वतन्त्रले राम्रो गर्न सक्छन् भन्ने पुष्टी गरेकाले स्वतन्त्र युवा उम्मेदवारहरु उत्साहित भएको सायमीको दावी छ । उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका प्रवक्ता हरि कार्की, भेषराज बेल्बासे, इशा खड्का लगायतले राजनीतिक दलहरु असफल भएकाले स्वतन्त्र अभियान उदाएको र अब यसलाई कसैले रोक्न नसक्ने बताएका थिए ।