२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

एमाले नै मुलुकको सच्चा कम्युनिष्ट पार्टी : डा. बालकृष्ण चापागाईं

बुधवार , आश्विन ५, २०७९

बुटवल, ५ असोज ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै घर एमालेमा फर्किएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा अर्थ एवं योजना विभागको प्रमुख रहेका चापागाईंले हालै मात्रै सो पार्टी परित्याग गरी एमालेमा फर्किएका थिए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीको जिल्ला कमिटीको बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘जुन उद्देश्यले समाजवादी पार्टी स्थापना भएको थियो, त्यसको औचित्य पुष्टि हुन सकेन, त्यसकारण म पुरानै घर फर्किएको हुँ ।”
नेकपा (एकीकृत समाजवादी) मा बसेर काँग्रेसको कार्यकर्ता बन्नुबाहेक अरु उपाय नदेखेपछि आफू पुरानै मातृ पार्टीमा फर्किएको बताए । “सत्तारुढ गठबन्धनमा बस्नु भनेको काँग्रेसको कार्यकर्ता बन्नु हो, त्योबाहेक अरु केही हुन सक्दैन, काँग्रेसको कार्यकर्ता बन्नु भन्दा मैले बरु पुरानै पार्टीमा फर्किनु उचित ठानें, ’उनले भने ।

चापागाईंले एमालेबाट विद्रोह गरेर नयाँ प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी गठन गरेको भए पनि त्यसले कुनै परिणाम दिन नसकेको भन्दै बरु एमाले नै मुलुकको सच्चा कम्युनिष्ट भएको र यसले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए । ‘मैले करिब एक वर्ष बाटो बिराएकै हुँ, तर विगतलाई बिर्सेर म इमान्दारीपूर्वक फर्किएको छ र बाँकी जीवन एमालेमै रहेर बिताउँछु, ’उनले भने । उनले आफूले योगदान गरेको प्रेस चौतारीसँग केही समय टाढा रहे पनि छोटो समयले फेरि एकै ठाउँ फर्काएको पनि बताए । उनले समाजवादीमा लागेका अन्य थुप्रै नेताहरु पुरानै पार्टीमा फर्किने पनि बताए ।

बैठकमा प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्य, केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज अमृत गिरी, केन्द्रीय सदस्यद्वय नवराज कुँवर, अमृता अनमोल, सल्लाहकारद्वय शेरबहादुर केसी दिनेश पाण्डे, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, प्रचार विभाग रुपन्देहीका सचिव नरेश केसी लगायतले पनि बोलेका थिए ।

बैठकले आउँदै गरेको विजयादशमी, तिहार, छठ एवं नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता तथा सचिव केशव भण्डारीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।