images

शुक्रवार, बैशाख १४ गते २०८१

रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • रुपन्देही प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

    भैरहवा, १० असोज । रुपन्देही प्रहरीले आउँदै गरेका चाडपर्वहरुलाई मध्यनजर गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी दसैं, तिहार, छठ लगायतका पर्वहरुलाई लक्षित गरी जिल्लाको सुरक्षा योजना सार्वजनिक गरेको हो ।

    images

    प्रहरीको सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत पार्नेदेखि वित्तीय कारोबार बढी हुने बैंक–वित्तीय संस्था र सुनचाँदी पसलहरुमा विशेष निगरानी राख्नेसम्म छन् । 

    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, दुर्घटना, अवैध हातहतियार ओसारपसार हुन सक्ने भन्दै यस्तालाई निस्तेज पार्न विशेष योजना बनाइएको बताए ।

    उनले यस्ता कार्य रोक्न प्रहरी सक्षम रहेको चौबीसैं घण्टा आमनागरिकलाई सुरक्षा दिन लागेको बताए । उनले भने, ‘चाडपर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसीभैलो तथा अन्य साँस्कृतिक कार्यक्रमहरुको नाममा गैरक्रियाकलाप गर्ने लगायतका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्युनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाइएको हो ।’

    प्रहरीकाअनुसार सामान्य अवस्थामा भन्दा पर्व लक्षित गरी सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको छ । त्यस्तै १० प्रकारका सुरक्षासम्बन्धी भिडियो–अडियो बनाएर धेरै भिडभाड हुने स्थान र सीमा क्षेत्र बजाइने/देखाइने गरिनेछ । सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने, पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने, देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको प्रहरीले जनाएको छ । 

    सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरु हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डल समेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउने प्रहरीले जनाएको छ । चाडपर्वका लागि जिल्लाभरी नेपाल प्रहरी १ हजार २४८ जनाको संख्यामा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

    यस्तो छ प्रहरी सुरक्षा योजना

    – नियमित–आकस्मिक तथा आवश्यकता अनुसार विभिन्न ठाउँमा प्रहरी चेकिङको व्यवस्था गर्ने ।

    – जनचेतनामूलक अडियो–भिडियो बनाइ माइकिङ गर्ने, पर्चा–पम्पलेट वितरण गर्ने ।

    – सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने ।

    – पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने ।

    – पटका, आतिसबाजीको प्रयोग गर्न नदिने र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने ।

    – जबरजस्ती चन्दा उठाउने कार्य, जुवाजन्य खेलहरु खेल्ने लगायतका कार्य हुन नदिने ।

    – देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको ।

    – आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने ।

    – स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने ।

    – आवश्यकताअनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने ।

    – सार्वजनिक यातायातका सवारीसाधनहरुले स्पष्ट यात्रुसूचि तथा भाडादर भए/नभएको चेकजाँच गर्ने ।

    – यात्रुहरुका समस्याहरुलाई समाधान र सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको ।

    – बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिने ।

    – विभिन्न मठमन्दिर, पुजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने ।

    – छठ पुजाअर्चना गर्ने मन्दिर, नदी तथा खोलाहरुमा सुरक्षा व्यवस्था मिलाउने ।

    –जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तहहरु, यातायात व्यवसायीहरु सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गर्ने ।

    – सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरु हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउने ।

    – चाडपर्वका लागि जिल्ला भरि नेपाल प्रहरी १ हजार २४८ जनाको संख्यामा परिचालन गर्ने ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij