images

शनिवार, बैशाख १५ गते २०८१

देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालन

देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालन

५ वर्षभित्र पूर्ण स्वास्थ्य बीमायुक्त नगर बनाउंछौं : नगरप्रमुख खरेल 

images
images
images
बुधवार, आश्विन १२ २०७९
बुधवार, आश्विन १२ २०७९
  • देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालन

    रुपन्देही, १२ असोज । 
    रुपन्देहीको देवदह नगरपालिकाले १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पुर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगरप्रमुख खरेलले चुनावी प्रतिवद्धताअनुसार आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकाले अघिल्लो सरकारले घोषणा गरेको ‘एक पालिका एक अस्पताल’ कार्यक्रमलाई छिटो कार्यान्वयनमा ल्याएको बताए । सबै नगरबासीलाई आधारभूत स्वास्थ्य उपचार सहज रुपमा उपलब्ध गराउन ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य वीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको उनले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरे । नगरप्रमुख खरेलले स्वास्थ्यसँगै शिक्षा, पुर्वाधार र रोजगारीलाई पनि प्राथमिकतामा राखेको बताउँदै नगरलाई प्रविधिमैत्री पनि बनाउने बताए । 

    images

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका १६ पालिकामध्ये तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालनसँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने र यसले ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले संविधानले स्वास्थ्य उपचारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले नगर अस्पतालले त्यसको प्रत्याभूति दिने बताए । नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत, ५ जना नर्स, ५ जना प्यारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिनेछन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले बताए । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने श्रेष्ठले बताए । 

    कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह स्वास्थ्य चौकीका पूर्व प्रमुख जयकिसन अधिकारी, नेकपा एमाले देवदह नगर कार्यवाहक अध्यक्ष हिरा थापा, कांग्रेस देवदह नगर सभापति गुणाखर भुर्तेल, नेकपा (माओवादी केन्द्र) का देवदह अध्यक्ष गोविन्द बहादुर ठडराई, वडा नम्बर ५ का पूर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, एमालेका नेता ऋषिराम सापकोटा, देवदह मेडिकल कलेजका गोपाल प्रसाद पोख्रेल, श्रीकृष्ण पोलिक्लिनिकका सञ्चालक कृष्ण गैरे, नेकपा (एकीकृत समाजवादी) का देवदह अध्यक्ष डिल्लीराम सापकोटा, नेकपा (क्रान्तिकारी माओवादी) का ऋषिराम लामिछाने, स्वास्थ्य शाखा प्रमुख काशीनाथ वञ्जाडे लगायतले नगर अस्पतालले दिने सेवा गुणस्तरीय र विरामीमैत्री हुनुपर्नेमा जोड दिए । 

    उक्त अवसरमा देवदह स्वास्थ्य चौकीका पूर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, पूर्व सदस्य दुर्गादत्त शर्मा र विष्णु पाण्डेलाई सम्मान गरिएको थियो । अस्पताल उद्घाटनको अवसर देवदह प्रेस क्लबको आयोजनामा रक्तदान कार्यक्रममार्फत ६३ प्वाइन्ट रगत संकलन भएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij